काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई चिकित्सकहरूले केही दिन पूर्ण आराम गर्न सल्लाह दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराएर आइतबार डिस्चार्ज भए पनि डाक्टरहरूको सल्लाहअनुसार उनीतत्कालका लागि सार्वजनिक कार्यक्रममा सहभागी नहुने भएका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार, चिकित्सकहरूको सल्लाहबमोजिम आजका लागि तय गरिएको ‘जेनजी’का प्रतिनिधिहरूसँगको छलफल कार्यक्रम स्थगित भएको छ । अन्तरिम सरकारमा मन्त्रीमण्डल विस्तार र आफ्ना मागहरू पूरा नभएको विषयमा छलफल गर्न जेनजीका प्रतिनिधिमण्डलले राष्ट्रपति पौडेलसँग भेट्ने कार्यक्रम थियो ।
गत शनिबार नै यो वार्ता तय भएको थियो, तर राष्ट्रपति पौडेलको आकस्मिक स्वास्थ्य समस्याका कारण त्यो दिन भेटघाट हुन सकेको थिएन । त्यसैले, उक्त छलफल आजका लागि सारिएको थियो । राष्ट्रपतिको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यो कार्यक्रम पुनः स्थगित गरिएको हो ।