काठमाडौँ। मधेस प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले दाबी पेस गरेका छन् । नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जसपा र एकीकृत समाजवादीको समर्थनमा उनले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् ।
काँग्रेस र एमालेलाई सरकार बाहिर राखेर मधेस प्रदेशसभा सरकार गठनको प्रयास भएको हो । १०७ सदस्यीय मधेस प्रदेशसभामा हाल १०५ जना सदस्य कायम छ ।
एमालेका एक निलम्बितसहित २५, नेपाली काँग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका एक निलम्बितसहित ९, नेकपा (एकीकृत समाजवादी)पार्टीका ७ तथा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका १/१ जना प्रदेशसभा सदस्य छन् ।
जनमतका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएपछि मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले असोज २९ गते दिउँसो ४ बजेभित्र दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।
सोनलको पक्षमा पाँच पार्टीका ५६ सांसद देखिएका हुन् ।