काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा भएको आगजनीबाट गृहमन्त्रालयमा रहेको करिब ५३ हजार अंगिकृत नागरिकताको अभिलेख जलेर नष्ट भएको खुलेको छ ।
मन्त्रायलको अभिलेखमा रहेको र डिजिटाइजेसन गर्ने क्रममा इन्ट्री भएका सबै विवरणहरु समेत जलेर नष्ट भएको गृहमन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ । गृहमन्त्रालयका सह प्रवक्ता एवं उपसचिव रविन्द्र अर्यालले गृहमन्त्रालयको अभिलेखमा रहेको अंधिकृत नागरिकताको विवरण जलेर नष्ट भएको जानकारी दिएका छन ।
उनका अनुसार, कतिपय अभिलेखहरू ‘डिजिटाइज्ड’ गर्ने क्रममा कागजातहरू स्क्यान भइरहेको थियो । स्क्यान गरेको डकुमेन्ट राखिएका कम्प्युटर र ल्यापटप पनि जलेको उनले बताए ।गतवर्ष सरकारले अंगिकृत नागरिकताको विवरण र अभिलेख डिजिटाइज्ड गर्ने योजना बनाएको थियो, त्यसक्रममा करिब १७ हजार विवरण इन्ट्री भइसकेको थियो । नेपाली महिलाले विवाह गरेका विदेशी पुरुष र नेपाली पुरुषले विवाह गरेकी विदेशी महिलाले अंगिकृत नागरिकता पाउछन् ।
वैवाहिक नागरिकताको अभिलेख जिल्ला प्रशासन कार्यालयहरूमा रहन्छ । नेपाली महिला र विदेशी पुरुषबाट जन्मेका र नेपालमै रहेका सन्तानले पनि अंगिकृत नागरिकता पाउँछन् ।
अर्कोतर्फ, १५ वर्ष नेपालमा स्थायी रूपमा बसोबास गरेको व्यक्तिले पनि अंगिकृत नागरिकता पाउँछन् । त्यस्तो नागरिकता जिल्लाले नभई गृह मन्त्रालयकै निर्णयबाट जारी हुन्थ्यो, त्यस्ता सबै अभिलेखहरू गृह मन्त्रालयमा थिए ।