ताजा खबर

काङ्ग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगन

धनुषा । नेपाली काङ्ग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगन भएको छ। प्रदेशसभा नं २ को दोस्रो अधिवेशनको दैनिक कार्यसूचीअनुसार आज बसेको ४८औँ बैठक शुरु भएको पाँच मिनेट नबित्दै काङ्ग्रेस सांसदले अवरोध गरेपछि स्थगन भएको हो।

बैठक शुरु भएपछि काङ्ग्रेस सचेतक उपेन्द्र कुशवाहाले टेबल ठोक्दै बोल्ने समय मागेपछि उहाँलाई बोल्न सभामुख सरोजकुमार यादवले समय उपलब्ध गराए। वीरगञ्जमा बिपी उद्यानका लागि निर्धारित जग्गामा प्रदेश सरकारले जबर्जस्ती शहीद पार्क बनाउन लागेको विरोध गर्दै काङ्ग्रेसले बैठकमा अवरोध गरेको हो।

सचेतक कुशवाहाले भने, “एक सरकारले गरेको निर्णय अर्को सरकारले उल्टाउँदै जाने हो भने कुनै पनि योजना पूरा हुन सक्दैन, त्यसैले प्रदेश सरकारको शहीद पार्क बनाउने कार्यक्रम फिर्ता लिनुपर्छ।”

सचेतकको विरोधपछि काङ्ग्रेसका सबै सांसदले उभिएर सदन अवरुद्ध गरेका थिए। सभामुख यादवले यस विषयमा सरकारले उचित जवाफ दिने आश्वासन दिए पनि काङ्ग्रेस सांसदले अवरोध जारी राखेपछि प्रदेशसभा बैठक फागुन १५ गतेसम्मका लागि स्थगन गरिएको हो।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news