काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ‘जेनजी आन्दोलन’ को नाममा शैक्षिक संस्था तथा सार्वजनिक सम्पत्तिमाथि भएको तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न दोषीहरूमाथि तत्काल कारबाही गर्न माग गरेको छ । नेविसंघले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई १० बुँदे मागपत्र बुझाउँदै यस विषयमा ध्यानाकर्षण गराएको हो ।
नेविसंघका प्रवक्ता सुरज सेजुवालका अनुसार, भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा केही असामाजिक तत्वहरूले आन्दोलनको आवरणमा घुसपैठ गरी अराजक गतिविधिहरू सञ्चालन गरेका थिए ।
मागपत्रमा उल्लेख भएअनुसार, आन्दोलनका क्रममा राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायत विभिन्न मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अदालतहरू, मालपोत कार्यालयहरू, प्रदेश तथा स्थानीय तहका कार्यालयहरू, प्रहरी कार्यालयहरू र शैक्षिक संस्थाहरूमा समेत तोडफोड, आगजनी र लुटपाट भएका थिए । नेविसंघले यी गतिविधिहरू शिक्षा क्षेत्र र लोकतान्त्रिक आन्दोलनको मर्मविपरीत भएको ठहर गरेको छ ।
प्रवक्ता सेजुवालले दोषीहरूलाई निष्पक्ष छानबिन गरी कानूनी दायरामा ल्याउन महानिरीक्षक खापुङसँग आग्रह गरेको जानकारी दिए । नेविसंघले यस्ता घटनाले लोकतान्त्रिक मूल्यमान्यता र शान्तिपूर्ण प्रदर्शनको अधिकारमाथि आँच पुर्याएको भन्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रहरी प्रशासन सजग हुनुपर्नेमा जोड दिएको छ ।