२३ कार्तिक २०८२, आईतवार
Follow Us

रास्वपाले प्रवासबाट फर्केका लागि १० प्रतिशत ‘समानुपातिक संसद’ बनाउने

नेपालब्रिटेन संवाददाता
२३ कार्तिक २०८२, आईतवार ०३:०८

रास्वपाले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फका उम्मेदवारका लागि आह्वान गर्दै नयाँ र विशिष्ट मापदण्ड तय गरेको छ। सह-महामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको रूपरेखा अनुसार उम्मेदवार बन्नका लागि विभिन्न स्वघोषणा अनिवार्य गरिएको छ।

जसमा सार्वजनिक पदको दुरुपयोग नगरेको, शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण, वैवाहिक अवस्थाको स्पष्टता, घृणात्मक अभिव्यक्ति नदिएको र परिवारको आधारभूत आवश्यकता पूरा गर्न सक्ने नियमित र पारदर्शी आम्दानीको स्रोत भएको जस्ता बुँदाहरू समावेश छन्।

उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी बनाउन ५० प्रतिशत भार प्रारम्भिक निर्वाचनले बोक्ने र त्यसको मूल्यांकन गर्न एक अडिट समिति बनाइने निर्णय पनि बैठकले गरेको छ।

साथै, पार्टीले समानुपातिक बन्दसूचीलाई थप वैज्ञानिक बनाउँदै जातीय क्लस्टरका साथै प्रदेशको जनसंख्याको अनुपातमा प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ। २५ देखि ४० वर्ष उमेर समूहका युवा (जेन-जी) हरूका लागि २७ प्रतिशत र प्रवासबाट फर्केका नेपालीहरूका लागि १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

२०७९ को निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेकाहरूले यस पटक समानुपातिकमा उम्मेदवार बन्न नपाउने व्यवस्था पनि गरिएको छ।

धेरै पढिएको