२४ कार्तिक २०८२, सोमबार
Follow Us

आन्दोलनमा रगतमा डुबेको जुत्ताको चर्चा

नेपालब्रिटेन संवाददाता
२४ कार्तिक २०८२, सोमबार ०६:०४

दैलेख । गत भदौ २३ गते काठमाडौँमा जेनजी समूहको आन्दोलनमा गोली लागेर घाइते भएका दैलेख नारायण नगरपालिका–८, तर्ताङका २९ वर्षीय प्रकाश बोहोरा राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत हुनुहुन्छ । गत भदौ २३ गते संसद् भवनअगाडिको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर उहाँ ढल्नुभएको थियो । उहाँको बायाँ खुट्टामा गोली लाग्दा गम्भीर चोट पुगेको थियो । त्यहीबेला उहाँले लगाएको सेतो रङको जुत्ता भिडभाडमा छुटेको थियो । रगत लतपतिएको उहाँको त्यो जुत्ता जेनजी विद्रोहको ‘आइकन’ बन्यो र अझै पनि चर्चा सेलाएको छैन ।

जनस्वास्थ्य अध्ययन गरेर अहेव बन्नुभएका उहाँले जिल्ला कारागार र विभिन्न गैरसरकारी संस्थामा काम गर्नुभएको तथा लोक सेवाको तयारीका लागि काठमाडौँ जानुभएको थियो । कोरोनापछि लोक सेवासमेत नखुलेपछि उहाँ रुसी सेनामा भर्ती भएर १२ महिना काम गर्नुभयो । रुसी सरकारको सम्झौता अनुसार १२ महिना सेनामा भर्ती भएर सेवा गर्नुभएका उहाँ तीन महिना रुसको राजधानीमा बसेर नेपाल फर्कनुभएको थियो । जिल्लामा रोजगारी नपाएको भन्दै पुनः विदेश जाने भनेर काठमाडौँ जानुभएको थियो । भदौ २३ गते भएको आन्दोलनका क्रममा उहाँ घाइते हुनुभएको हो ।

प्रकाश बोहोराका बुवा रेसमबहादुर बोहोराले जेनजी आन्दोलनमा घाइते भएका छोराका कारण आफूहरू समस्यामा परेको बताउनुभयो । उहाँले उपचारका लागि नेपाल सरकारले व्यवस्था गरे पनि ट्रमा सेन्टरमा नपाइने औषधी किन्न र कुरुवाको खर्च तिर्न धौ धौ परेको बताउनुभयो ।

देशमा सुशासनका लागि भएको आन्दोलनका क्रममा छोरा घाइते भएको बताउँदै उहाँले अब घाइतेका परिवारलाई जीवन निर्वाहका लागि सरकारले नै प्याकेजमा रोजगारीको व्यवस्था गरिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “कमाउने छोरा घाइते भयो, बुहारी र नातिको हेरचाहका लागि घाइतेले पढेको विषय अनुसार रोजगारी दिनु पर्दछ । रोजगारी पनि सम्बन्धित जिल्लामा भयो भने केही हुन्छ, काठमाडौँमा भएर त्यसको अर्थ हुँदैन ।” घाइते बोहोराले दसैँअगाडि सामाजिक सञ्जालमा लेख्नुभएको थियो, “जेनजी आन्दोलनका दिन मेरो खुट्टाको रगतले रङ्गिएको सेतो जुत्ता तपाईंलाई याद छ होला । रगतले रङ्गिएको जुत्तासँग एक पटक नजिक हुन पाएँ भने मेरो सङ्घर्षको स्मृति पूरा हुने छ किनकि त्यो जुत्ता केवल अब कपडा होइन, मेरो मात्र पनि हैन । हाम्रो आन्दोलनको आवाज र मेरो पुस्ताको साहसको प्रतीक बनेको छ ।”

गोली अझै टाउकोमै
त्यस्तै जेनजी आन्दोलनमा घाइते हुनुभएका दैलेखको भगवतीमाई गाउँपालिका–१ का २८ वर्षीय दीपेन्द्र बस्नेतको परिवारले पनि राज्यले नागरिकमाथि गरेको दमनका कारण छोरो घाइते भएको बताएको छ । देशमा रोजगारी नपाएर विदेश जान हिँडेको छोरालाई गोली हानेर घाइते बनाएको भन्दै उहाँका बुवा डिल्लीबहादुर बस्नेतले छोराछोरीको लालनपालनमा राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले गोली लागेकै दिन भदौ २३ गते नै टाउकाको अपरेसन गरिसकेको बताउँदै टाउकोमा रहेको गोलीसमेत चिकित्सकले निकाल्न नसक्ने जवाफ आफूले पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “डाक्टरले नै गोलीको टुक्रा निकाल्न नसक्ने बताएपछि छोरालाई सधैँ समस्या हुने देखिएको छ ।” राज्यमा बसेका राजनीतिक दल, सरकारका कारण यो अवस्था आएको बताउँदै जेनजी आन्दोलनबाट बनेको सरकारले समेत घाइतेको उपचारबाहेक अन्य कुनै कुरामा सहयोग नगरेको गुनासो गर्नुभयो । सरकारले मृतकलाई मात्र होइन घाइतेका परिवारलाई समेत उपचारको व्यवस्थाका साथै क्षतिपूर्ति र रोजगारीको व्यवस्था गरिनुपर्ने उहाँले माग गर्नुभयो ।

धेरै पढिएको