ग्लासगो, १० नोभेम्बर २०२५ – नेपाली दूतावास, लन्डनको आयोजनामा र एनआरएनए स्कटल्याण्डको विशेष पहलमा आज स्कटल्याण्डको ग्लासगोस्थित पशुपति मन्दिर परिसरमा एकदिने घुम्ती कन्सुलर सेवा सम्पन्न भएको छ।
बिहान ११:०० बजेबाट सुरु भई साँझ ५:३० बजे सम्पन्न भएको उक्त शिविरमा ८२ जना नेपाली नागरिकहरूले दूतावासका विविध सेवा लिन सफल भएका थिए। शिविरमा पासपोर्ट नवीकरण, पर्यटक भिसा, वारेशनामा लगायतका कागजी तथा प्रशासनिक सेवाहरू प्रदान गरिएका थिए।
कार्यक्रममा कार्यवाहक महामहिम राजदूत श्री बिपिन दुवाडीको विशेष उपस्थिति रह्यो। उहाँले एनआरएनए स्कटल्याण्डप्रति आभार व्यक्त गर्दै स्कटल्याण्डमा नेपाली समुदायलाई सहज र पहुँचयोग्य सेवा प्रदान गर्न आगामी दिनमा पनि यस्ता घुम्ती सेवा निरन्तर सञ्चालन गरिने आश्वासन दिनुभयो। साथै, उहाँले एनआरएनए स्कटल्याण्डका पदाधिकारीहरूसँग २०२५ को नेपाली मेला आयोजना सम्बन्धी बैठक पनि गर्नुभएको थियो।
यस सेवाका लागि सहभागीहरू एबरडिन, एडिनबर्ग, एअर, डुनून र डन्डी लगायत स्कटल्याण्डका विभिन्न सहरहरूबाट आएका थिए।

कार्यक्रमपश्चात् एनआरएनए स्कटल्याण्डका अध्यक्षले दूतावास टोलीलाई धन्यवाद ज्ञापन गर्दै समुदायमुखी यस्ता सेवाहरू निरन्तर सञ्चालन गर्न आग्रह गर्नुभयो। सो अवसरमा सचिव मधव भण्डारीले पनि दूतावास टोली तथा विशेषगरी महामहिम राजदूतज्यूलाई धन्यवाद दिँदै आगामी वर्षको सामाजिक गतिविधि तालिकामा यस्ता सेवाहरूलाई समावेश गर्न अनुरोध गर्नुभयो।
कार्यक्रमका प्रमुख संरक्षक काशीराम भण्डारी र सामाजिक व्यक्तित्व मोती खरेलले समेत आजको सफल कार्यक्रमप्रति सन्तुष्टि व्यक्त गर्दै सबै सहभागी, स्वयंसेवक र आयोजकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।
एनआरएनए राज्य समन्वय समिति स्कटल्याण्डले सम्पूर्ण सहभागी र सहयोगीहरूलाई आभार प्रकट गर्दै यस्ता सेवात्मक कार्यले नेपाली समुदायबीच आपसी सम्बन्ध र विश्वास बलियो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।
