काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार काठमाडौं उपत्यकाका मेयरहरूसँग बालुवाटारमा महत्त्वपूर्ण छलफल गरिन् । यस भेटमा उपत्यकाका अधिकांश स्थानीय तहका प्रमुखहरू उपस्थित रहे पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को अनुपस्थिति भने खट्कियो ।
उनको अनुपस्थितिप्रति प्रधानमन्त्री कार्कीले गुनासो व्यक्त गरेको छलफलमा सहभागी एक मेयरले जानकारी दिए । मेयर बालेनको अनुपस्थिति यो पहिलो पटक भने होइन । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तह प्रमुखहरूको साझा मञ्च मानिने मेयर्स फोरमका बैठकहरूमा पनि बालेन यसअघि सहभागी हुने गरेका थिएनन् । प्रधानमन्त्री कार्कीले बालेनको स्वभावबारे टिप्पणी गर्दै भनेकी थिइन्, ‘उसले हाम्रा कुरा सुन्दैन, आफ्ना कुरा मात्र भन्छ । उसको बानी फरक छ ।’
जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीलाई सत्तामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका बालेनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिँदै आएका छन् । तर, सरकारले चुनावको वातावरण बनाउन दलहरूसँग संवादमा जोड दिएकाले बालेन वर्तमान सरकारसँग क्रुद्ध रहेको बुझिएको छ । केही दिनअघि बालेनको टिमबाट गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा समेत मागिएको थियो ।
छलफलमा सहभागी उपत्यकाका तीनवटै जिल्लामा पर्ने स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुनेमा विश्वास व्यक्त गर्दै त्यसका लागि सहयोग गर्न आफूहरू तयार रहेको बताए । उनीहरूले आफूहरूले भोगिरहेका विभिन्न समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराए ।
मेयरहरूले फोहोर व्यवस्थापनको समस्याको गाँठो फुकाइदिन र सडक बत्तीको बक्यौता रकमसम्बन्धी विवाद मिलाइदिन आग्रह गरे । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफू निर्वाचित भएर आउनुअघिको बक्यौता रकम समेत राफसाफ गरिदिन अनुरोध गर्दै सडक बत्तीको महसुल ६० प्रतिशत स्थानीय सरकारले र ४० प्रतिशत संघीय सरकारले तिर्ने व्यवस्था गर्नुपर्ने माग राखे ।
त्यस्तै, जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीको सम्बोधन गर्दै स्थानीय तहका कार्यालय सञ्चालनमा सहजीकरण गरिदिन पनि उनीहरूले प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।
विभिन्न नगरपालिकाका प्रमुखहरूले विशिष्ट मागहरू पनि प्रस्तुत गरे । गोकर्णेश्वर नगरपालिकाका प्रमुखले नेपाल ट्रस्टको जग्गामा सडक विस्तार गरिदिन आग्रह गरे भने टोखा नगरपालिकाका प्रमुखले टोखा-छहरे बाटो चौडा पार्न स्थानीयलाई मुआब्जा दिने निर्णय गर्नुपर्ने सुझाव दिए । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले भदौ २४ गते जेनजी आन्दोलनसँग सम्बन्धित नै नभएका व्यक्तिहरूले घरघरमा लुटपाट मच्चाएकाले तिनलाई कानुनबमोजिम कारबाही हुनुपर्ने माग गरे । कीर्तिपुरका नगरप्रमुखले त्रिभुवन विश्वविद्यालयको जग्गामा बसपार्क, अस्पताल र प्रशासकीय भवन सञ्चालनका लागि संघीय सरकारले अनुमति दिनुपर्ने माग राखे । चाँगुनारायण नगरपालिकाका प्रमुखले सल्लाघारी-कमलविनायक-नगरकोट सडकको लामो समयदेखिको निर्माणकार्य चाँडो सम्पन्न गर्न आग्रह गरे ।
धेरै जनप्रतिनिधिले मितव्ययिता कायम गर्न संघीय सरकारले ३ करोडभन्दा कम बजेटका योजना कटौती गरेको निर्णयका कारण विकास निर्माणका काम गर्न समस्या परेको गुनासो गरे ।
प्रधानमन्त्री सुशीला कार्कीले आफू अहिले निर्वाचनमा केन्द्रित रहेको जानकारी दिँदै त्यसमा सहयोग गर्न आग्रह गरिन् । उनले भनिन्, ‘एकातिर निर्वाचन मात्र गराऊ, अरु काम नगर भन्ने कुरा पनि उठेको छ । अब त चुनावको आचारसंहिता पनि लाग्ला । तैपनि तपाईंहरूले अघि सार्नुभएका समस्यामा केकति गर्न सकिन्छ, हेरौंला । जेजति समस्या छन्, तिनको समाधान तपाईं–हामी मिलेर नै गर्नुपर्छ ।’
भावी पुस्ताका लागि यो देश बस्नलायक बनाउने जिम्मेवारी सबैको रहेको बताउँदै उनले थपिन्, ‘समाज भाँचियो, बिग्रियो भने पनि हामीले बनाउनैपर्छ । भागेर कहाँ जाने ? बरु अन्यत्र जाँदा पनि फर्केर आउने ठाउँ यही हो ।’ उनले विगत ३०-३५ वर्षदेखि एकैथरीले एकलौटी शासन गरेका कारण युवामा वितृष्णा भएको स्वीकार गर्दै युवालाई अघि बढ्न दिनुपर्ने र उनीहरूको सोचलाई बुझ्नुपर्नेमा जोड दिइन् ।