२७ माघ २०८२, मंगलवार
Follow Us

भ्रम र जातिवादको राजनीति त्यागेर राष्ट्र निर्माणमा लागौँ : अध्यक्ष ओली

नेपालब्रिटेन संवाददाता
२७ माघ २०८२, मंगलवार ०५:५९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सर्वतोमुखी प्रगतिका लागि भौतिक पूर्वाधारको विकास, सामाजिक कुप्रथाको अन्त्य र सुदृढ राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका छन् । झापाको गौरीगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माणको अभियानलाई सार्थक बनाउन सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।

अध्यक्ष ओलीले विगतमा आफूले अघि सारेका विकासका योजनाहरूले अहिले जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको दाबी गरे । उनले २०२६-२७ सालदेखि नै आफू यस क्षेत्रको विकासमा क्रियाशील रहेको स्मरण गर्दै झापाको रूपान्तरण आफ्नै आँखाले देखेको बताए । विगतमा मजाक बनाइएका हुलाकी राजमार्ग र ठूला पुलहरू अहिले यथार्थमा परिणत भएको उल्लेख गर्दै उनले ठेकेदार वा इन्जिनियरका कारण रोकिएका केही आयोजनाका समस्या चाँडै समाधान गरिने प्रतिबद्धता जनाए ।

उनले गरिबी र पछौटेपनलाई संस्कृति मान्ने गलत चिन्तन त्याग्नुपर्ने धारणा राखे । ‘गुइँठा र दाउरा बाल्नु हाम्रो संस्कृति होइन, यो त गरिबी र अभाव हो,’ उनले भने । उनले अब गुइँठाको सट्टा बिजुली र स्वदेशी ग्यासको प्रयोगमा जोड दिनुपर्ने बताए । नेपालमै रहेको ग्यास खानी उत्खनन गरी पाइपमार्फत घरघरमा ग्यास पुर्याउन सकिने योजना सुनाउँदै उनले विकासको बाटोमा कसैले भ्रम फिँजाउन नहुने स्पष्ट पारे ।

सामाजिक न्यायको प्रसङ्गमा ओलीले ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिको संरक्षण राज्यको मुख्य दायित्व भएको र एमाले सरकारले यसलाई उच्च प्राथमिकता दिएको दाबी गरे । उनले समाजमा व्याप्त बोक्सी प्रथा जस्ता कुप्रथालाई वैज्ञानिक चेतनाले चिर्नुपर्ने बताए । ‘शिक्षा नै विकासको आधार हो, त्यसैले हरेक जातजातिका बालबालिकालाई उच्च शिक्षासम्म पुर्याउनु अभिभावकको जिम्मेवारी हो,’ उनले भने ।

राजनीतिक चर्चा गर्दै उनले जातीयताको राजनीतिले देश नबन्ने ठोकुवा गरे । ‘देश जातले होइन, विचार, दृष्टिकोण, नीति र संकल्पले बन्छ,’ उनले भने । जात र थरको नाममा विभाजित हुनुको सट्टा राष्ट्र निर्माणका लागि एकजुट हुन उनले कार्यकर्तालाई निर्देशन दिए । उनले एमालेको नेतृत्वमा मात्रै नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा जोगिने र विकासले गति लिने दाबी समेत गरे ।

भ्रमको राजनीति गर्नेहरूबाट सचेत रहन आग्रह गर्दै अध्यक्ष ओलीले भावनामा बगेर नभई सही विचार र पार्टीको छनोट गरेर अघि बढ्न सबैलाई आह्वान गरेका छन् ।

धेरै पढिएको