२ मंसिर २०८२, मंगलवार
Follow Us

पोखरा-भुटान सिधा उडान

नेपालब्रिटेन संवाददाता
२ मंसिर २०८२, मंगलवार १९:१४

भुटानको भुटान एयरलाइन्सले पोखरा-पारो (भुटान) सिधा उडान सुरु गरेको छ।

भुटान एयरले आज एक औपचारिक उडान गर्दै पोखरा-पारो (भुटान) सिधा उडान शुभारम्भ गरेको हो। यसअघि भुटान एयरले अक्टोबरबाटै पोखरा-पारो नियमित उडान गर्ने घोषणा गरेको थियो।

त्यसबेला भुटान एयरलाइन्सले असोज १२, १६, २० र २४ गते चारवटा नियमित चार्टर्ड उडान गर्ने जनाएको थियो। तर नेपालमा भएको जेन-जी आन्दोलनका कारण पूर्व निर्धारित उडान रोकिएको थियो।

त्यही घोषणा अनुसार पूर्व निर्धारित उडानको तालिका हेरफेर गरि मंगलबारदेखि उडान शुभारम्भ गरेको भुटान एयरले जनाएको छ।

पोखरा-पारो (भुटान) को पहिलो उडानमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित ९ जना यात्रु र चालक दलका सदस्य रहेका थिए। १२६ सिट क्षमताको भुटान एयर पारोबाट नेपाल आउँदा भने रित्तै आएको थियो।

पोखरा-पारो (भुटान) उडानको शुभारम्भ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले केक काटेर गरेका थिए।

मेयर आचार्यले आफू भुटान एयरको विमानमार्फत थिम्पु पुगेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनले शुभारम्भ उडानमा पूर्व निर्धारित अनुसारको टोली सहभागी नभएको बताए।

भुटान एयरलाइन्स, युनिभर्सल टुर्स एण्ड ट्राभल्स (युटीटी) का चेयरम्यान परासर प्रसाईंको निमन्त्रणामा आफू थिम्पु गएको पनि उल्लेख गरेका छन्। उनी ३ दिन बसेर पोखरा फर्किने बताइएको छ।

भुटान भ्रमण आफ्नो सद्भावना भ्रमण भएको तर पोखरा महानगरपालिकाको कुनै खर्च नहुने उनले उल्लेख गरेका छन्।

नेपालमा पछिल्लो क्रममा देखिएको आर्थिक मन्दी, जेन-जी आन्दोलन लगायतका कारण पर्यटनमा देखिएको शिथिलतालाई पुनर्जागरण गर्न पोखरा-पारो उडानले सघाउ पुग्ने अपेक्षा गरिएको छ।

पोखराका पर्यटन व्यवसायीहरूको छाता संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले उडान शुभारम्भ हुनु नै धेरै राम्रो कुरा भएको बताए।

‘हाम्रो भनाई भनेको पोखराबाट अन्तर्राष्ट्रिय उडान हुनुपर्‍यो भन्ने हो’, उनले भने, ‘भुटान एयरले उडान सुरु गरेर धेरै राम्रो गर्‍यो। यसबाट धेरै अपेक्षा नगरे पनि नियमित उडान भएमा पर्यटन प्रवर्द्धनमा सघाउँछ भन्ने हाम्रो अपेक्षा हो।’

उनले यस्तै उडान अन्य/अन्य ठाउँमा पनि हुने वातावरण बनाउनुपर्नेमा जोड दिए। यसअघि पोखराबाट सिचुवान एयरलाइन्सले चीनको छेन्दु, हिमालय एयरलाइन्सले तिब्बत उडान गर्न सुरु गरिसकेको छ।

धेरै पढिएको