८ मंसिर २०८२, सोमबार
Follow Us

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गरियोस् : रक्षा बम

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०८२, सोमबार ०४:४४

काठमाडौं । ‘नागरिक सरकार’ को नारा दिएर गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको सचिवालय नै नातावादको दलदलमा फसेको भन्दै ‘जेनजी’ युवा नेतृ रक्षा बमले कडा आपत्ति जनाएकी छन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले पदको दुरुपयोग गर्दै आफ्ना श्रीमती तथा नातेदारहरूलाई सचिवालयमा नियुक्ति दिलाएको खुलासा भएपछि नेतृ बमले सरकारको नैतिक धरातलमाथि प्रश्न उठाएकी हुन् ।

उनले तत्काल श्रेष्ठलाई पदमुक्त गर्न र ती सम्पूर्ण पारिवारिक नियुक्तिहरू खारेज गर्न माग गरेकी छन् । भदौ २३ को ‘जेनजी विद्रोह’ ले स्थापित गरेको सुशासन र जवाफदेहिताको मर्ममाथि प्रहार भएको टिप्पणी गर्दै बमले सामाजिक सञ्जालमार्फत कडा आक्रोश पोखेकी छन् । उनले लेखेकी छन्, ‘परिवर्तनका लागि बगाइएको रगतको अपमान हुने गरी संवेदनशील समयमा बनेको सरकारभित्र नातावाद र कृपावाद हावी गराउनु अक्षम्य अपराध हो ।’

विद्रोह केवल आर्थिक भ्रष्टाचार विरुद्ध मात्र नभई ‘नैतिक भ्रष्टाचार’ र नातावाद विरुद्ध पनि केन्द्रित रहेको स्मरण गराउँदै नेतृ बमले भनेकी छन्, ‘नागरिक सरकारको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले नै श्रीमती र नातेदारलाई जागिर खुवाउने थलो बनाउनु सरासर गलत हो । यो विद्रोहको मर्म विपरीत छ ।’

उनले आदर्श कुमार श्रेष्ठलाई तत्काल पदबाट हटाई सरकार सीमित व्यक्तिहरूको चंगुलमा फस्नबाट जोगिनुपर्ने चेतावनी दिएकी छन् । ‘सरकार बेलैमा सचेत होस्, नातावादलाई प्रश्रय दिने कुनै पनि नियुक्ति तुरुन्त खारेज गरियोस्,’ बमको माग छ ।

धेरै पढिएको