नारायण गाउंले ।
एमाले र माओवादी मिलेर बनेको “नेकपा”सँग झन्डै दुई तिहाई बहुमत थियो । प्रमुख प्रतिपक्ष भनेको ‘मुसो जत्रो बनेको’ कांग्रेस थियो, त्यसमा पनि विपक्षी दलका नेता भनेका बोल्नै नसक्ने शेरबहादुर देउबा थिए । यो एमाले र माओवादी मात्रै होइन, देशकै लागि ठूलो अवसर थियो । देशले राजनैतिक स्थायित्व खोजेको थियो, सुशासन र बलियो सरकार खोजेको थियो । प्रत्यक्ष निर्वाचित कार्यकारी भएको भए ओलीले जोकोहीलाई सजिलै हराउने थिए । तर ओली र प्रचण्डको व्यक्तिगत ईगोका कारण त्यो पाँच वर्ष बेकार गयो ! दुई पल्ट त ओलीले संसद विघटन नै गरे ।
यह पृष्ठ अदालतले गैरसंवैधानिक भनेर संसद त फिर्ता गर्यो, तर ओलीले ९ महिनासम्म अवरोध गरेर चल्न दिएनन् । सरकार अध्यादेशको भरमा चल्यो ! एउटा ठूलो अवसर गुम्यो ।
गत निर्वाचनमैं आममतदाताले पार्टी या त्यसका जीर्ण अनुहारको विकल्प खोजिसकेका थिए । खासगरी गैरकम्युनिस्ट उदार मतदाताको समूह निकै असन्तुष्ट र विकल्पको खोजीमा थियो । काठमाडौंमा बालेनको भव्य जीत त्यसकै अभिव्यक्ति थियो ।
त्यतिन्जेल देशभर निकै लोकप्रिय, युवा र स्वच्छ छवि भएका गगन थापालाई प्रधानमन्त्री घोषणा गरेर एक्लै चुनाबमा गएको भए परिवर्तन चाहने मत एकै ठाउँ आउने र कांग्रेसले निर्णायक मत पाउने स्थिति थियो । कांग्रेस र गगन थापाका निम्ति यो अन्तिम अवसर थियो । रास्वपा खोल्नुअघि रवि लामिछाने गगन थापाको प्रसंशक नै थिए । स्वर्णिम वाग्ले र मनीष झाहरू त्यहीँ थिए । एउटा सक्षम र योग्य युवाहरूको समूह थियो ।
एकपल्ट मात्रै मन्त्री पद पाएका थापाले स्वास्थ्यमन्त्री हुँदा गरेको स्वास्थ्यबीमादेखि निःशुल्क डाइलाइसिससम्मका नीतिगत र व्यावहारिक सुधारको सबैले खुलेर प्रसंशा गरेका थिए । रास्वपाले उनीविरुद्ध उम्मेदवार नै उठाएको थिएन । स्वर्णिमजी त गगन थापालाई प्रधानमन्त्री बनाउन भन्दै मैदानमैं हुनुहुन्थ्यो । शायद गगन थापाहरूले टिकट बाँड्ने अवसर पाएको भए अहिले अन्यत्र देखिने धेरै युवा नेता त्यहीँ हुने थिए । तर स्वर्णिम वाग्ले जस्ता सक्षम र योग्य नेताले समेत टिकट पाएनन् । कांग्रेससँगै गगनको अवसर पनि गुम्यो ।
त्यो चुनाबले नयाँ दल र आशलाग्दा अनुहार राजनीतिमा ल्यायो । रवि लामिछाने नयाँ राष्ट्रिय शक्ति र अनुहार दुबै बनेर उदाए । गगनको लोकप्रियता पनि घट्यो । अझ सहकारी प्रकरणमा विभिन्न सूचना र आरोप बाहिर आएपछि सबैभन्दा लोकप्रिय रहेका रवि लामिछानेमाथि छानबिन हुनुपर्ने माग सदनमा राखेपछि त उनलाई मुख्य शत्रुका रूपमा चित्रण गर्न खोजियो । सम्पूर्ण आरोप र भ्रष्टाचारको छानबिन गर्ने भन्दै सत्तामा आएका रवि लामिछानेले छानबिन गर्ने मागलाई सहज रूपमैं लिनुपर्ने थियो । गृहमन्त्री रवि आफै भएकाले प्रहरीले तटस्थ छानबिन गर्न सक्दैनथ्यो । त्यसैले संसदीय छानबिनको माग गर्नु नै अपराध भएको जस्तो व्याख्या भयो । छानबिनपछि नै सत्यतथ्य बाहिर आउने र दोषी या निर्दोष साबित हुने हो । न उनी छानबिन समितिमा थिए, न अड्डाअदालत कतै बहस गर्न गएका छन् । छानबिनको माग मात्रै उनको हो ।
त्यसपछिका सबै निर्णय, छानबिन, मुद्दा र अदालतका आदेश उनकै निर्देशनमा आएको जस्तो प्रचार भयो । प्रहरीदेखि अदालतसम्मका आदेश सबै गगन थापाको हो भन्ने भाष्य विकास भयो । तर स्थिति के छ भने यत्रो उथलपुथल र विद्रोहपछि कम्तिमा पार्टीको महाधिवेशनसम्म गरेर नयाँ म्यान्डेटका साथ निर्वाचनमा जाऊँ न त भन्ने माग पनि पार्टीभित्रै अल्पमतमा छ ।
अस्तिको जेनजी विद्रोह र अभूतपूर्व विध्वंशपछि फेरि गगन थापा एकपल्ट राष्ट्रिय राजनीतिमा सान्दर्भिक बनेर उदाएका छन् ! यो राजनैतिक अस्पष्टता, आक्रोश, आवेग, दिशाहीनता र तरलताको स्थितिमा गगन थापाले देखाएको संयम, सन्तुलन र समन्वयकारी भूमिकालाई धेरैले सकारात्मक रूपमा लिएको भेटियो । एउटा अनुभवी, परिपक्व र युवा नेतृत्वका रूपमा उनको चित्र फेरि सतहमा आएको छ ।
मैले गत महिना उनीसँग वर्तमान राजनीतिका सन्दर्भमा लामैं छलफल गरेँ ! यदि २३ गतेको जेनजी आन्दोलनको कुनै एउटा बलियो नेतृत्व भएको भए, या बालेन आफैले त्यो नेतृत्व लिएर अघि बढेको भए तपाईंहरूको भविष्य सकिएको थियो नि भन्ने मेरो पहिलो टिप्पणीप्रति गगन थापा सहमत नै देखिए । राजनीतिदेखि देशको व्यावसायिक वातावरणसम्म निकै धमिलो भएकोमा हाम्रो चिन्ता मिल्यो ।
पुराना पार्टीहरूभित्र जनआक्रोश र निराशालाई स्वीकार गर्ने र परिवर्तन आवश्यक छ भन्नेमा धेरै नेता छैनन् । केही भएकै छैन भन्नेहरू धेरै छन् । उनले केही वर्षदेखि भित्रभित्रै पाक्दै गरेको यो आक्रोशलाई बुझेका र बुझाउने प्रयास पनि गरेका थिए ।
उनको पहिलो लड़ाइँ र सुधार त पार्टीभित्रै रहेछ । यत्रो उथलपुथलपछि बनेको सरकारले कानुनदेखि र देशभर नयाँ मतदातासम्म अपडेट गरेर चुनाब गराउन सक्ने, एमालेले महाधिवेशन गर्न सक्ने तर केही लाख कार्यकर्ता रहेको कांग्रेसले भने महाधिवेशन समेत गर्न नसक्ने र आफ्नो म्याद आफै थप्नेसम्मका बहस गर्दै रहेछ । केही नेतालाई फेरि पदमा आइन्न भन्ने होला ।
यथास्थितिविरुद्ध ठूलो जनमत र आक्रोश छ । देशमा यत्रो राजनैतिक विद्रोह भएको छ । कम्तिमा नयाँ म्यान्डेट र कार्यक्रम लिएर चुनाबमा जाऊँ भन्ने उनको पार्टीभित्रैको लड़ाइँ कतिसम्म सफल हुन्छ हेर्न बाँकी छ ।
पक्कै यो अवसर पार्टी र उनी दुबैका लागि बारम्बार भने आउने छैन ।