काठमाडौँ । गैरआवासीय नेपाली संघभित्र विगत ५ वर्षदेखि चलिआएको किचलो अन्त्य हुने संकेत देखिएपछि प्रधानमन्त्री शुसिला कार्की उत्साहित भएकी छन्।
गैरआवासीय नेपाली संघको १०औँ महाधिवेशनमा निर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठले शुक्रबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै आइतबार हुन लागेको संघको एकताबारे प्रधानमन्त्री शुसिला कार्की लगायत सरकारका मन्त्रीहरू उत्साहित रहेको जानकारी दिए। श्रेष्ठले संघको एकताको लागि सम्पूर्ण तयारी पूरा भएको बताए।
संघका पूर्वउपाध्यक्ष आर.के. शर्माले संस्थाभित्र विभाजन हुँदा मुद्दाहरू कमजोर बनेका कारण एकता अपरिहार्य भएको बताए। उनका अनुसार, गैरआवासीय नेपाली संघको विवाद विदेशमा रहेका करिब ८० लाख नेपालीका लागि चिन्ताको विषय बनिरहेको थियो। “अब हाम्रा मुद्दाहरूलाई छायामा पर्न नदिन हामी सबै एक हुनुपर्छ,” उनले भने।
उनले संस्थाभित्र विवाद हुँदा सरकारले संघका एजेण्डाहरूको सुनुवाइ नगरेको आरोप लगाए। शर्माे आइतबार हुने एकतालाई थप बलियो बनाउन सबै पक्षको सहयोगको लागि अपिल गरे।
प्रवक्ता गंगाधर गौतमले आफू एकताको सन्देश लिएर मातृभूमिमा आएको बताए।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी र अध्यक्ष महेश कुमार श्रेष्ठबीच भएको लामो छलफलपछि संघको एकता सम्भव भएको हो। आइतबार प्रधानमन्त्री कार्यालयमा हुने एकताको कार्यक्रममा सहभागी हुन संघका शुभचिन्तक तथा पदाधिकारीहरू काठमाडौँ आइपुगेका छन्। सो तयारीका लागि अध्यक्ष डा. केसी विगत केही महिनादेखि नेपालमा सक्रिय थिए।
दुवै पक्षलाई सहमतिमा ल्याउन संघका उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा एक कार्यदल गठन गरिएको थियो। सोही कार्यदलले तयार पारेको सहमति मसौदामा दुवै पक्ष एकमत भएपछि संस्थाको विभाजन अन्त्य हुने भएको हो।