१७ मंसिर २०८२, बुधबार
Follow Us

मधेस प्रदेशसभा बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित

नेपालब्रिटेन संवाददाता
१७ मंसिर २०८२, बुधबार ०६:०५

काठमाडौं । मधेस प्रदेश सभाको बैठक सरकारी प्रतिनिधि अनुपस्थित भएपछि स्थगित गरिएको छ । साढे १० बजे शुरू भएको बैठक कार्यसूचीमै अघि बढ्न नसकेपछि उपसभामुख बबिता कुमारी राउत ईशरले बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिइन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतको परमादेशअनुसार विश्वासको मत लिने उद्देश्यका लागि बिहान ८ बजे बस्नेगरी प्रदेश सभा बैठक बोलाएका थिए । सर्वोच्चले सोमबार २४ घण्टाभित्र मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने आदेश जारी गरेको थियो ।

यदि विश्वासको मत नपाएको खण्डमा संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ मुख्यमन्त्री चयन प्रक्रिया अघि बढाउन अदालतले निर्देशन दिएको छ ।

यसअघि सभामुख रामचन्द्र मण्डलविरुद्धको अविश्वास प्रस्ताव पारित भइसकेको थियो । मुख्यमन्त्री यादवले आजै दिउँसो २ बजेका लागि बैठक डाकिदिन पत्र पठाए पनि सर्वदलीय बैठकले बिहान साढे ८ बजे बैठक बस्ने सहमति गरेको थियो ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सदस्यको समर्थन आवश्यक पर्छ ।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा एमाले नेता सरोजलाई मुख्यमन्त्री नियुक्त गरेपछि प्रदेशको राजनीतिको केन्द्रमा फेरि हलचल आएको थियो । त्यसपछि सरकारले उनलाई पदच्युत गरी सुरेन्द्र लाभलाई नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

नयाँ सरकार गठन प्रक्रियालाई असंवैधानिक ठान्दै मुख्यमन्त्री सरोजको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।

धेरै पढिएको