“फरक दृष्टिकोण र कार्यशैलीबाट संस्था सञ्चालन गर्न नेतृत्व लिन चाहन्छु।”
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा हेमराज शर्माले आगामी १२ औँ महाधिवेशन व्यापक सहमति र आम गैरआवासीय नेपालीको चाहनाअनुसार सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। अमेरिकाबाट संचालित एक अनलाइन माध्यमसँग मंगलवार विहान दिएको अन्तर्वार्तामा उनले संघका अध्यक्षद्वय डा बद्री केसी र महेश कुमार श्रेष्ठबीच हालै भएको भावनात्मक एकताले विगत दशकयताको विवाद अन्त्यतर्फ मार्ग खुलेको स्पष्ट पारे।
उनका अनुसार एनआरएनएमा १० वर्षदेखि निरन्तर देखिँदै आएको विभाजन समाधानका धेरै प्रयास भए पनि तेस्रो पक्षमार्फत हुने समझदारीले दिगोपन नपाएको उल्लेखनीय तथ्य हो। “यो पटक भने दुवै अध्यक्ष मनदेखि नै प्रतिवद्ध भएर एक भएका छन्। त्यसैले अहिलेको एकता दीर्घकालीन हुन्छ,” डा. शर्माले भने।
उनले विगतका त्रुटिबाट सिकेर, संस्थागत सुधारलाई प्राथमिकता दिएर मात्र अहिलेको सहमति सम्भव भएको जोड दिए। “एकताको कार्यान्वयनमा सबै पक्ष इमान्दार भए आगामी महाधिवेशन सहज र शान्त रूपमा हुन्छ,” उनले बताए।
डा. शर्माले आफू १२ औँ महाधिवेशनमा स्वाभाविक रूपमा अध्यक्ष पदका आकांक्षी रहेको खुला गर्दै भने, “गत अक्टोबरमा विभाजनबीच भएको महाधिवेशनमै म अध्यक्षको आकांक्षी थिएँ। अहिले वातावरण सहज बन्दै गएको छ, त्यसैले मेरो दाबी स्वाभाविक र उचित छ।” करोडौँ रुपैयाँको चलखेल वा राजनीतिक दबाब बिना पनि योग्य व्यक्तिले नेतृत्व लिन सक्छ भन्ने प्रमाणित गर्ने उद्देश्यले आफू उम्मेदवार बन्ने उनको भनाइ छ।
उनले फरक विचार, नवीन सोच र पेशागत क्षमताको व्यक्तित्व नेतृत्वमा आए संस्थामा वास्तविक परिवर्तन महसुस हुने बताए । “संस्थालाई नयाँ पुस्ता, प्रविधि र पारदर्शी कार्यशैलीसँग मेल खुवाएर लैजान सकिन्छ भन्नेमा म विश्वस्त छु,” उनले भने।
राष्ट्रिय समितिहरू (एनसीसी) मा देखिएको विभाजन केन्द्रमा एकता भएपछि स्वतः मिल्नसक्ने डा. शर्माको तर्क छ। “विभाजनको मूल जड आइसीसी थियो। अब केन्द्र एक भएपछि राष्ट्रिय तहमा विभाजन रहिरहनुपर्ने कुनै औचित्य छैन,” उनले भने। स्थानीय कानूनअनुसार दर्ता भएका वा नभएका एनसीसीले आ–आफ्नो संरचना हेरेर एकता गर्न सक्ने उनले उल्लेख गरे। १२ औँ महाधिवेशनपछि बन्ने नयाँ कार्यसमिति विश्वभरका एनसीसीमा देखिएका मतभेद अन्त्य गर्न आवश्यक कदम चाल्ने उनको दाबी छ।
यसअघि, प्रधानमन्त्री शुशिला कार्कीको रोहवरमा अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठबीच विगत केही वर्षयताको विभाजन अन्त्य गर्दै बृहत् एकता महाधिवेशन गर्ने सहमति भएको थियो। सो सहमतिअनुसार डिसेम्बर ९ देखि विश्वव्यापी सदस्यता वितरण प्रक्रिया पुनः खुल्ने एनआरएनएले जनाएको छ।