२९ मंसिर २०८२, सोमबार
Follow Us

ओली र ईश्वरको प्यानलमा को–को अटाए ?

नेपालब्रिटेन संवाददाता
२९ मंसिर २०८२, सोमबार ०६:०६

काठमाडौं । नेकपा एमालेको बागडोर सम्हाल्न वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् । १९ पदाधिकारीका लागि यी दुई समूहबीच प्रतिस्पर्धा हुनेछ । हेरौं दुवै समूहमा को–को अटाए ?

महासचिव पदमा अन्ततः शंकर पोखरेलले बाजी मारेका छन् । लामो समयदेखि महासचिवका दाबेदार मानिएका प्रदीप ज्ञवाली र पोखरेलबीचको रस्साकस्सीमा ओलीले पोखरेललाई नै आफ्नो सारथी रोजेका हुन् । महासचिवमा पोखरेलको नाम पक्का भएपछि नेता ज्ञवालीलाई भने उपाध्यक्षमा व्यवस्थापन गरिएको छ ।

ओली समूह
पाँच उपाध्यक्षका लागि विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम चयन भएको छ । यस्तै, तीन जना उपमहासचिवका लागि रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाममा सहमति जुटेको छ ।

नौ जना सचिव पदका लागि पनि ओली पक्षले भूगोल र समुदाय सन्तुलन मिलाउँदै नाम फाइनल गरेको छ । जसमा पद्मा अर्याल, छवि विश्वकर्मा, लेखराज भट्ट, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराई समेटिएका छन् ।

ईश्वर समूह
नेकपा एमालेको महाधिवेशनबाट आगामी नेतृत्वका लागि ईश्वर पोखरेलको समूहबाट केही पदाधिकारीका उम्मेदवारहरूको टुंगो लागेको छ । जसमा अध्यक्षका लागि ईश्वर पोखरेल रहेका छन् । उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ र एक जना खाली राखिएको छ ।

महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुंगो लागेको छ भने उपमहासचिवमा योगेशकुमार भट्टराईको टुंगो लागेको छ । सचिव पदका लागि छ जनाको नाममा टुंगो लागेको छ । जसमा विनोद ढकाल, ठाकुर गैरे, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा र रचना खडका रहेका छन् ।

धेरै पढिएको