२९ मंसिर २०८२, सोमबार
Follow Us

विदेशबाट फर्केर कांग्रेसको टिकट !

नेपालब्रिटेन संवाददाता
२९ मंसिर २०८२, सोमबार ०५:२२

लण्डन – नेपाली कांग्रेस काभ्रेले संघीय संसदको निर्वाचनका लागि क्षेत्र नं २ बाट तस्वीरसहितका नेताहरूको नाम समानुपातिकतर्फ सिफारिस गरेको छ। क्षेत्रीय समितिको बैठकले उक्त नेताको नाम समानुपातिकतर्फ १ नम्बरमा सिफारिस गरेको हो।

धादिङ क्षेत्र नं १ बाट संघीय सांसदको उम्मेदवारका रूपमा युवा नेता मनोजकुमार श्रेष्ठसहितका नेताहरूको नाम सिफारिस भएको छ। नेपाली कांग्रेस जिल्ला कार्य समिति, धादिङद्वारा गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष श्रेष्ठको नाम सिफारिस गरिएको हो।

प्रवासमा रहेका नेपालीहरूले पनि श्रेष्ठको नाम सिफारिस भएकोमा खुशी व्यक्त गर्दै उनलाई उम्मेदवार बनाउने सुझाव कांग्रेसलाई दिइरहेका छन्। प्रतिनिधिसभाको चुनाव फागुन २१ गते हुँदैछ।

यस्तै, नेपाली कांग्रेस डोटीले प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ गोरखबहादुर बिष्ट (आनन्द) को नाम सिफारिस गरेको छ।

नेपाली कांग्रेस डोटीले प्रत्यक्षतर्फ उम्मेदवारका लागि पूर्व आमन्त्रित केन्द्रीय सदस्यसहित १७ जनाको नाम सिफारिस गरेको हो। डोटीको जोरायल गाउँपालिका–५ गडसेरामा जन्मिएका बिष्ट हाल जन सम्पर्क समिति अमेरिकाका सभापति हुन्।

नेपाली कांग्रेस कैलाली क्षेत्र नं २ क्षेत्रीय समितिले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि डा. जितु उपाध्यायसहित १० जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ।

हाल सदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख राजनीतिक सल्लाहकार डा. उपाध्याय कांग्रेसका युवा नेता हुन्। दक्षिण कोरियाबाट फूड टेक्नोलोजीमा पीएचडी गरेका उपाध्याय क्यानडामा प्राध्यापन गरिरहेका थिए। शाहले उनलाई प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेपछि उनी नेपाल फर्किएका हुन्।

धेरै पढिएको