२५ पुष २०८२, शुक्रबार
Follow Us

बार्सिलोनामा ‘क्रियटिभ इन्फ्लुएन्सर मेला’ भव्य रूपमा सम्पन्न

नेपालब्रिटेन संवाददाता
१ पुष २०८२, मंगलवार ०१:३२


रमेश खनाल – बार्सिलोना

क्रियटिभ नेप्लिज इन स्पेनको आयोजना तथा नेपालोना इभेन्ट्सको प्रयोजनमा स्पेनको बार्सिलोनामा ‘क्रियटिभ इन्फ्लुएन्सर मेला’ भव्य रूपमा सम्पन्न भएको छ।

स्पेनमा बसोबास गर्दै आएका विभिन्न सिर्जनात्मक क्षमता भएका नेपालीहरूको प्रतिभा पहिचान गराउने, आपसी भेटघाट, चिनजान र सहकार्यको सम्भावना सिर्जना गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम प्रेरणादायी भिडियो प्रदर्शनसँगै सुरु गरिएको थियो। ‘आफ्नो सपना पछ्याउनुहोस्’ भन्ने सशक्त सन्देश समेटिएको उक्त भिडियोले सहभागीहरूलाई आफ्ना लक्ष्यतर्फ अघि बढ्न थप प्रेरित गरेको देखिन्थ्यो।

क्रियटिभ इन्फ्लुएन्सर मेलामा स्पेनमा लामो समयदेखि स्थापित व्यक्तिहरूका साथै हालसालै स्पेन आएका विभिन्न सीप र क्षमता भएका युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सामग्री निर्माणकर्ता, सूचना प्रविधि (आईटी) क्षेत्रका पेशेवर, लामो समयदेखि मिडियामा क्रियाशील रिपोर्टर, मेकअप आर्टिस्ट, मोडलिङ तथा अभिनय क्षेत्रमा सक्रिय कलाकार, वित्तीय क्षेत्रका पेशेवर, संगीतकर्मी, भिडियोग्राफर तथा फोटोग्राफरहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले आफ्नो परिचय दिने क्रममा संघर्षका कथा, अनुभव र भविष्यका सपना साझा गरेका थिए, जसले कार्यक्रमलाई अझ अर्थपूर्ण र प्रेरणादायी बनाएको थियो।

कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन बीच–बीचमा विभिन्न खेल गतिविधिहरू पनि समावेश गरिएको थियो, जसले सहभागीहरूबीच आपसी घनिष्ठता र आत्मीयता बढाउन सहयोग पुर्‍याएको आयोजकहरूले बताएका छन्।

कार्यक्रमका प्रमुख वक्ताका रूपमा उपस्थित चर्चित कथावाचक साईग्रेस पोखरेलले आफ्ना प्रेरणादायी अनुभवहरू सुनाउँदै सहभागीहरूलाई मन्त्रमुग्ध बनाए। उनले करिब १० वर्षसम्म ‘भूमिगत रूपमा’ निरन्तर संघर्ष र मेहनत गरेपछि मात्र सफलता प्राप्त गर्न सकेको आफ्नो यात्रा सुनाउँदै धैर्य र निरन्तरताको महत्त्व स्पष्ट पारे।

युट्युबमार्फत विभिन्न व्यक्तित्वका प्रेरणादायी कथाहरू प्रस्तुत गर्दै चर्चामा रहेका पोखरेलले “मैले यहीँबाट सफलता पाएको हुँ, तपाईंहरूले पनि पाउन सक्नुहुन्छ। तर आफ्नो सपनाको कामलाई कहिल्यै छोड्नु हुँदैन। निरन्तरता नै सफलताको मुख्य आधार हो,” भन्ने सन्देश दिँदै सहभागीहरूलाई थप उत्साहित बनाए।

गैरआवासीय नेपाली संघ स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले स्पेन सरकारद्वारा यस्ता सिर्जनशील व्यक्तिहरूका लागि क्षमता अभिवृद्धि गर्ने तालिमहरू निःशुल्क उपलब्ध गराइने जानकारी दिँदै, ती अवसरहरू उपयोग गर्न सबैलाई आग्रह गरे। उनले सहभागी सबैलाई सफल भविष्यको शुभकामना पनि व्यक्त गरे।

बार्सिलोनास्थित एरोमा क्याफेमा आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी भएपछि आफ्ना सपना पछ्याउन थप आत्मविश्वास र प्रेरणा प्राप्त भएको प्रतिक्रिया धेरै सहभागीहरूले व्यक्त गरेका छन्।

कार्यक्रमले बार्सिलोनामा रहेका नेपाली सिर्जनशील युवाहरूलाई एकआपसमा जोड्ने महत्वपूर्ण मञ्चको भूमिका खेलेको आयोजकहरूको भनाइ रहेको छ।

धेरै पढिएको