१ पुष २०८२, मंगलवार
Follow Us

उपमहासचिवको दौडबाट बाहिरिए राजेन्द्र गौतम

नेपालब्रिटेन संवाददाता
१ पुष २०८२, मंगलवार ०५:२३

काठमाडौं । नेकपा एमालेको जारी ११औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रियामा उपमहासचिव पदमा उम्मेदवारी दिएका नेता राजेन्द्र गौतम पछि हटेका छन् । पार्टी नेतृत्वको सुझावलाई शिरोधार्य गर्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

एमालेका प्रचार विभाग प्रमुख समेत रहेका गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै आफू उपमहासचिवको प्रतिस्पर्धाबाट बाहिरिएको जानकारी दिएका छन् । उनले मुलुकको वर्तमान संकट र चौतर्फी घेराबन्दीका बीच पनि महाधिवेशनमा जनताले देखाएको अपार सहभागिताप्रति सम्मान व्यक्त गर्दै ‘रेड स्यालुट’ अर्पण गरेका छन् ।

गौतमले आफ्नो सन्देशमा भनेका छन्, ‘पार्टी नेतृत्वको सुझाव र सल्लाहमा उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरेको छु । केपी शर्मा ओलीको सिंगो टिमलाई विजय गराउन हार्दिक अपिल गर्दछु ।’

सुरुवातमा अध्यक्ष केपी शर्मा ओली पक्षबाटै उपमहासचिवको आकांक्षी रहेका गौतमले टिममा नपरेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । अध्यक्ष ओलीको प्यानलबाट रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु रिमाल आधिकारिक उम्मेदवार बनेपछि गौतमले बागी उम्मेदवारी दिएका थिए ।

उपमहासचिवको दौड छाडे पनि गौतमले खुला केन्द्रीय सदस्य पदमा भने प्रतिस्पर्धा कायम राखेका छन् । उनले केन्द्रीय सदस्यमा अमूल्य मत दिएर विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन् ।

उम्मेदवारी फिर्ताको घोषणा गरे पनि प्राविधिक रूपमा भने मतपत्रमा उनको नाम रहनेछ । निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिसकेपछि मात्र उनले फिर्ताको घोषणा गरेकाले मतपत्रमा उनको नाम यथावत् रहने भएको हो ।

धेरै पढिएको