लण्डन। गैरआवासीय नेपाली संघको विभाजनप्रति संघका नेताहरूले आत्मआलोचना गरेका छन्।
गैरआवासीय नेपाली संघको अफ्रिका तथा एशिया क्षेत्रीय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्षद्धय डा. बद्री केसी र महेश कुमार श्रेष्ठले केन्द्रमा भएको विभाजनले राष्ट्रिय समितिमा पनि असर पुगेकोमा क्षमायाचना गर्दै आत्मआलोचना गरेका छन्।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आइसीसीका कारण विदेशमा नेपाली समाजमा भएको विभाजनले आफुलाई दुखि बनाएको बताए । उनले भने, “विविध कारणले केन्द्रमा विभाजन भयो र त्यसले राष्ट्रिय समितिहरू विभाजित भए। त्यसले मेरो पेट पोल्थ्यो। हाम्रो कारणले तल्लो तहसम्म परेको असरप्रति क्षमायाचना गर्दछु।”
श्रेष्ठले एनआरएनएभित्र एकता कायम नभएको भए परराष्ट्र मन्त्रालयले संस्थानै खारेज गर्ने स्थिति आएको जानकारी दिए। उनले भने, सर्वोच्च अदालतको फैसला आउन समय लाग्ने भएकाले तत्काल एकता अपरिहार्य थियो। परराष्ट्र मन्त्रालयले एकता नभए एनआरएनए ऐन संशोधन गरेर संस्था खारेजीको तयारी गरेको थियो। त्यसैले हामीसँग एकताको विकल्प थिएन। उनले फेब्रुअरी महिनामा हुने १२ औँ महाधिवेशन सफल पार्न सबै एनसीसीहरूलाई सहयोगको अपिल गरे।
उस्तै, अध्यक्ष डा. बद्री केसीले पनि आइसीसीको कारण एनसीसीमा परेको विभाजनप्रति आत्मआलोचना गर्दै क्षमायाचना गरे।
डा. केसीले गैरआवासीय नेपाली संघको फेब्रुअरी २३, २४ र २५ मा हुने १२ औँ महाधिवेशनमा जुट्न आग्रह गरे। उनले सबै एनसीसीहरूमा सदस्यता ९ जनवरीसम्म खुला गरिएको जानकारी पनि दिए।
कार्यक्रममा एनआरएनएका क्षेत्रीय तथा केन्द्रीय पदाधिकारीहरूको उपस्थिति रहेको थियो।