४ पुष २०८२, शुक्रबार
Follow Us

केम्प्टन पार्क रेसकोर्समा इमिग्रेसनको छापा: ११ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
४ पुष २०८२, शुक्रबार १४:१७

लन्डन, — सरे प्रहरी, इमिग्रेसन इन्फोर्समेन्ट र साउथ ईस्ट रिजनल अर्गनाइज्ड क्राइम युनिटको संयुक्त टोलीले बिहीबार केम्प्टन पार्क रेसकोर्समा छापा मारेको छ। बजार क्षेत्रमा अवैध रूपमा काम भइरहेको सूचनाका आधारमा कारबाही गरिएको प्रहरीले जनाएको छ।

छापाका क्रममा अवैध रूपमा काम गरिरहेका ११ जना कामदारलाई इमिग्रेसन इन्फोर्समेन्टले पक्राउ गरेको हो। तीमध्ये पाँच जनालाई बेलायतबाट हटाउने प्रक्रियाअन्तर्गत हिरासतमा राखिएको छ। बाँकी छ जनालाई कडा आप्रवासन जमानतमा रिहा गरिएको छ र उनीहरूलाई नियमित रूपमा होम अफिसमा हाजिर हुन निर्देशन दिइएको छ।

बरो कमाण्डर इन्स्पेक्टर म्याट वाल्टनले अपराधीबाट शोषणमा परेका कमजोर व्यक्तिको संरक्षण प्राथमिकता रहेको बताए। “हामी सधैं शोषणमा परेकाहरूको रक्षा गर्न चाहन्छौं। तर, जानीजानी कानुन उल्लङ्घन गरी काम गर्नेहरूमाथि साझेदार निकायसँग मिलेर कडा कारबाही गरिन्छ,” उनले भने।

उनका अनुसार अवैध रूपमा काम गर्नेहरूले इमान्दारी र वैध रूपमा काम गर्नेहरूको अधिकार खोस्ने गर्छन्। “यस्ता लक्षित अपरेसनमार्फत हामी अपराध नियन्त्रणका साथै अन्य सम्भावित आपराधिक गतिविधिको पनि पहिचान गर्न सक्छौं,” उनले थपे। छापाबाट स्थानीय स्तरमा नयाँ सूचनासमेत संकलन भएको र अवैध कामदारको शोषणविरुद्ध दीर्घकालीन कामका क्षेत्र पहिचान गरिएको प्रहरीले जनाएको छ।

धेरै पढिएको