९ पुष २०८२, बुधबार
Follow Us

एनआरएनए स्टेरिङ कमिटीको तेस्रो: १२ औँ महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय

नेपालब्रिटेन संवाददाता
९ पुष २०८२, बुधबार ०४:१८

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीको तेस्रो बैठक मिति २०८२ साल पुस ८ गते (तदनुसार डिसेम्बर २३, २०२५) मंगलबार सम्पन्न भएको छ।

संघका पूर्व अध्यक्ष बिनोद कुँवरको अध्यक्षतामा तथा महासचिव बाबुराम (बी.आर.) लामाद्वारा सञ्चालित उक्त बैठकमा आगामी १२औँ बृहत् महाधिवेशन र निर्वाचन प्रक्रिया केन्द्रित महत्वपूर्ण छलफल तथा निर्णयहरू गरिएका छन्।

बैठकले १२औँ महाधिवेशनको निर्वाचन प्रक्रिया व्यवस्थित रूपमा अगाडि बढाउनका लागि उच्च अदालतका पूर्व न्यायाधीश तेजबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तका रूपमा नियुक्त भइसकेको सन्दर्भमा संघको तर्फबाट आवश्यक लिखित समझदारी (MoU) गर्ने निर्णय गरेको छ। साथै निर्वाचन आयोगको टोलीसँग समन्वयलाई थप प्रभावकारी बनाइने जनाइएको छ।

त्यसैगरी, महाधिवेशन र निर्वाचनसँग सम्बन्धित कानुनी तथा नीतिगत विषयमा स्पष्टता ल्याउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयसँग छलफल गर्न आगामी आइतबार बस्ने स्टेरिङ कमिटी बैठकका लागि सचिवालयमार्फत अनुरोधपत्र पठाउने निर्णय गरिएको छ। सो बैठकमा कानुन मन्त्रालयका प्रतिनिधिलाई समेत परराष्ट्र मन्त्रालयमार्फत सहभागिताका लागि आग्रह गरिने बैठकले जनाएको छ।

बैठकले एनसीसी एकता सहजिकरण समितिले तयार पारेको कार्यविधि (ToR) लाई पनि सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। यस निर्णयले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूबीचको एकता प्रक्रियालाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

यस्तै, सदस्यता एकीकरण तथा नयाँ सदस्यता आवेदनको समीक्षा सम्बन्धमा पनि महत्वपूर्ण निर्णय भएको छ। एकताको महाधिवेशनबाट गठित राष्ट्रिय समन्वय समितिहरूमा रहेका हालका साधारण सदस्यहरूको विवरण, संघका अध्यक्ष महेश कुमार श्रेष्ठसँग समन्वय गरी महासचिव बी.आर. लामाले संघको सचिवालयको आइटी विभागमा पठाउने निर्णय बैठकले गरेको छ।

एनआरएनए स्टेरिङ कमिटीले यी निर्णयहरूलाई समयमै कार्यान्वयन गर्दै संघको एकता, वैधानिकता र विश्वसनीयता सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

धेरै पढिएको