काठमाडौं । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा डडेलधुरा पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनौती दिँदै चर्चामा आएका युवा अभियन्ता सागर ढकालले आसन्न निर्वाचनका लागि महत्वाकांक्षी र आक्रामक राजनीतिक खाका सार्वजनिक गरेका छन् । आगामी फागुन २१ गतेका लागि तय गरिएको भनिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ढकालले देशका प्रमुख तीन दलका शीर्ष नेताहरूलाई उनीहरूकै ‘गढ’ मा गएर चुनौती दिने ‘ग्राण्ड डिजाइन’ पेस गरेका हुन् ।
ढकालले सामाजिक सञ्जालमार्फत ‘देशको नवीन सुरुवातको सानो खाका’ सार्वजनिक गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौँ महानगरका मेयर बालेन शाह, कांग्रेस सभापति शेरबहादुर देउवासँग आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रत्यक्ष चुनाव लड्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
ढकालका अनुसार यो प्रस्ताव ५-७ महिना अघि नै तयार पारिएको हो । उनले आफू पुनः डडेलधुरामा शेरबहादुर देउवासँग लड्ने घोषणा गरेका छन् । यस्तै, झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भिड्न बालेन शाहलाई आग्रह गरेका छन् भने माओवादी अध्यक्ष प्रचण्डसँग भिड्न रवि लामिछाने तयार हुनुपर्ने उनको तर्क छ । ‘बालेनजी सजिलो खेलमा रमाउने खालको हुनुहुन्न, त्यसैले यो सम्भव हुने छाँटकाँट देखिएको छ,’ ढकालले लेखेका छन्, ‘रविजीले पनि भैरहवा र नख्खु दुवै जेलमा रहँदा यस विषयमा सैद्धान्तिक सहमति जनाउनुभएको थियो ।’
नाति र हजुरबुवा पुस्ताबीचको लडाइँ
ढकालले आगामी चुनावलाई सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र नभई ‘नातिनातिना भर्सेस हजुरबुवा-हजुरआमा’ बिचको संघर्षको रूपमा चित्रण गरेका छन् । ‘यो चुनाव पुराना भर्सेस नयाँको हो, पेशाहीन भ्रष्टाचारी भर्सेस श्रम गरी खानेको हो,’ उनले भनेका छन् । उनले शीर्ष नेताहरूलाई सम्मानपूर्वक विश्राम दिनुपर्ने तर्क गर्दै भनेका छन्, “यसपालि हजुरबुवा-आमालाई जबरजस्ती काम गराउने होइन, माया गर्ने र आराम गराउने हो । दुःख दिने होइन ।’