अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) समूहविरूद्ध ‘शक्तिशाली र घातक हमला’ गरिएको बताएका छन ।
राष्ट्रपति ट्रम्पले सोसल मिडिया प्लेटफर्म ट्रुथमामार्फत् उत्तर–पश्चिमी नाइजेरियामा चरमपन्थी संगठन आईएस समूहविरूद्ध ‘शक्तिशाली र घातक हमला’ गरिएको बताएका हुन ।
राष्ट्रपति ट्रम्पले आईएसलाई ‘आतंकी फोहोर’को संज्ञा दिँदै संगठनले मुख्य रूपमा निर्दोष इसाई धर्मावलम्बीहरूलाई निशाना बनाउने र विभत्स हत्या गर्ने गरेको आरोप लगाएका छन ।
अमेरिकी सेनाले कयौं सटिक आक्रमण गरेको भने पनि ट्रम्पले आक्रमणसँग सम्बन्धित अन्य जानकारीहरू भने सार्वजनिक गरेका छैनन् ।
अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले भनेको छ, ‘अमेरिकाले कुन स्थानलाई निशाना बनायो र यो आक्रमण कहिले गरियो भन्ने बारे स्पष्ट छैन ।’
नोभेम्बरमा ट्रम्पले अमेरिकी सेनालाई नाइजेरियामा इस्लामी उग्रवादी समूहविरूद्ध कारबाहीको तयारी गर्न आदेश दिएका थिए ।