११ माघ २०८२, आईतवार
Follow Us

सबैको समान पहुँचको लागि अनलाइन मतदान : डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए

नेपालब्रिटेन संवाददाता
१९ पुष २०८२, शनिबार १३:२०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले काठमाडौँमा भौतिक रूपमा उपस्थित भई मतदान गर्ने पुरानो प्रणालीका कारण संस्थाभित्र विकृति मौलाएकाले सो अभ्यास हटाइएको स्पष्ट पारेका छन्। उनले सबै सदस्यको समान पहुँच, पारदर्शिता र आर्थिक भार घटाउने उद्देश्यले अनलाइन मतदान प्रणाली लागू गरिएको बताए।

शनिबार नायोगा क्षेत्रीय समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै डा. शर्माले काठमाडौँ पुगेर मतदान गर्नुपर्ने व्यवस्थाले निर्वाचनको विश्वसनीयतामाथि प्रश्न उठाउनुका साथै सदस्यहरूलाई आर्थिक रूपमा ठूलो भार परेको उल्लेख गरे। “काठमाडौँ केन्द्रित भौतिक मतदान प्रक्रिया असफल भएपछि व्यापक छलफलमार्फत सदस्यहरूलाई आर्थिक भार नपर्ने र सबैको समान सहभागिता सुनिश्चित गर्ने उद्देश्यले अनलाइन मतदान सुरु गरिएको हो,” उनले भने।

डा. शर्माले भौतिक मतदानको वकालत गर्नेहरूमा धेरैजसो विचौलिया र ठेकेदार मानसिकताका व्यक्ति रहेको आरोप लगाए। “एक जना व्यक्ति नेपाल घुमघामको बहानामा जान्छ, नातागोता जम्मा गरेर १०–१२ जनालाई बोकेर लैजान्छ र त्यहाँ बार्गेनिङ सुरु हुन्छ। त्यस्ता मतदाता वास्तविक एनआरएन हुँदैनन्, उनीहरू भित्रभित्रै बेचिएका हुन्छन्,” उनले भने। यस्तो विकृतिले संस्था बलियो नबन्ने ठहर गर्दै सबैको पहुँच पुग्ने गरी प्रतिनिधिहरूलाई लाग्ने शुल्कसमेत हटाएर अनलाइन मतदानको व्यवस्था गरिएको उनले जानकारी दिए।

डा. शर्माले आगामी फेब्रुअरी अन्तिम साता हुने गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण एनआरएनलाई सक्रिय सहभागिताका लागि आह्वान पनि गरे।

कार्यक्रममा गैरआवासीय नेपाली संघका युवा उपाध्यक्ष रोशन थापाले देशको बदलिँदो परिस्थिति अनुरूप संघमा नयाँ पुस्ताको सहभागिता अपरिहार्य रहेकोमा जोड दिए। संघका सचिव पारसमणि पोखरेलले संघभित्र हालै सम्पन्न बृहत् एकता प्रक्रियाबारे चर्चा गर्दै त्यसले संस्थालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

अन्तरक्रिया कार्यक्रममा दीपक कार्की, रामु खरेल, डा. सुदीप अधिकारी, राजकुमार अधिकारी, श्याम सिटौला, भावना गौतम, सुरेशचन्द्र उपाध्याय, सूरज काफ्ले, विष्णु कँडेल, विमल अधिकारी, राम थापालगायतले गैरआवासीय नेपाली संघको अभियान, सुधार र भावी दिशाबारे आ–आफ्ना धारणा राखेका थिए।

धेरै पढिएको