काठमाडौँ। नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर सम्भावित पार्टी विभाजनको खतरा रोक्न भूमिका खेल्न आग्रह गरेका छन् ।
बिहीबार बिहान महाराजगञ्जस्थित निवासमा भेटेर कोइरालाले देउवालाई पार्टी जोगाउन सक्रिय हुन भनेका हुन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधबार आगामी २७ देखि २९ पुसम्म विशेष महाधिवेशन घोषणा गरेका थिए ।
लगत्तै संस्थापनले विज्ञप्ति जारी गरेर महामन्त्रीद्वयले बोलाएको विशेष महाधिवेशनमा सहभागी नहुन भनेको छ । श्रोतका अनुसार कोइरालाले विशेष महाधिवेशनलाई संकल्प सभामा परिणत गर्न आग्रह गरे ।
अहिले संकल्प प्रस्ताव पारित गर्ने र वैशाख अन्तिममा घोषित १५औं महाधिवेशनले स्वामित्व लिने गरी अघि बढन् कोइरालाले देउवालाई सुझाएका थिए ।