हङकङ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले विश्वभर छरिएर रहेका करिब १० लाख गैरआवासीय नेपालीलाई संस्थाको छाताभित्र समेट्न सकिए मात्र संस्थाको वास्तविक लक्ष्य पूरा हुने बताएका छन्।
गैरआवासीय नेपाली संघ हङकङले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै डा. शर्माले एनआरएनएको निर्वाचन प्रणालीलाई अझ समावेशी बनाउँदै विश्वभर रहेका सबै गैरआवासीय नेपालीलाई प्रत्यक्ष मतदानको अधिकार दिनुपर्ने आवश्यकता औँल्याए।
उनले हाल प्रतिनिधिमार्फत हुने निर्वाचन प्रणालीलाई सुधार गरी सबै सदस्यलाई मतदानमा सहभागी गराउन सकिए आगामी केही वर्षभित्र करिब १० लाख नेपालीले एकैपटक मतदान गर्न सक्ने अवस्था सिर्जना गर्न सकिने बताए । “अहिलेसम्म हामी सबै गैरआवासीय नेपालीलाई संस्थामा जोड्न सकेका छैनौँ,” उनले भने, “तर सबैलाई मतदानको अधिकार दिइयो भने १० लाख मतदाताले संस्थाको नेतृत्व चयन गर्न सक्छन्, जसले नेपालका राजनीतिक दलहरूसँग बराबरी हैसियतमा संवाद गर्न सक्ने शक्ति प्रदान गर्छ।”
डा. शर्माले गैरआवासीय नेपाली अभियान विशेषगरी दोस्रो पुस्ताका लागि अत्यावश्यक रहेको उल्लेख गरे। विदेशमा जन्मेका वा हुर्केका दोस्रो पुस्तालाई नेपालसँग जोड्न प्रविधि र पर्यटन प्रभावकारी माध्यम हुन सक्ने उनको धारणा थियो। “विदेशमा आर्जन गरिएको ज्ञान, सीप र अनुभव नेपालमा भित्र्याउन दोस्रो पुस्ताको भूमिका महत्वपूर्ण छ,” उनले भने, “पर्यटन तथा शैक्षिक प्याकेजमार्फत उनीहरूलाई नेपालसँग भावनात्मक र व्यावहारिक रूपमा जोड्न सकिन्छ।”
एनआरएनएको अध्यक्ष पदका आकांक्षीसमेत रहेका डा. शर्माले १० बुँदे घोषणापत्रसहित विस्तृत कार्ययोजना सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थालाई समयानुकूल प्रविधिमैत्री बनाउँदै विश्वभरका नेपाली व्यवसायीलाई एउटै एपमार्फत जोड्न सकिने र त्यसबाट संस्थागत लाभ लिन सकिने बताए।
डा. शर्माले एनआरएनएको निर्वाचन खर्चिलो हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै आगामी निर्वाचनमा आफूले कुनै पनि आर्थिक खर्च नगर्ने स्पष्ट पारे। “मसँग पैसा छैन, कसरी चुनाव जित्छ भन्ने प्रश्न उठ्ने गरेको छ,” उनले भने, “तर अघिल्लो निर्वाचनमा उम्मेदवारी शुल्कबाहेक अन्य खर्च नगरी लोकप्रिय मतसहित विजयी भएको हुँ। अब हुने निर्वाचनमा पनि पैसा खर्च नगर्ने मेरो सिद्धान्त कायम रहनेछ।” उनले चुनावमा हारलाई समेत सहज रूपमा स्वीकार गर्न तयार रहेको र अघिल्लोपटक जस्तै साथीहरूको पूर्ण सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए।
अनलाइनमार्फत नै निर्वाचन हुन्छ : डा. शर्मा
डा. शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनमा हाइब्रिड (अनलाइन तथा भौतिक) रूपमै निर्वाचन हुने सहमति भइसकेको बताएका छन्।
धेरैलाई अनलाइन मतदान हुने कि प्रत्यक्ष मतदान हुने भन्ने विषयमा अन्योल रहे पनि संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठबीच भएको सहमतिअनुसार संघको विधान २०२२ बमोजिमको निर्वाचन प्रणाली लागू हुने गरी हस्ताक्षर भइसकेको उनले स्पष्ट पारे। उक्त सहमतिमा महेश श्रेष्ठको समेत हस्ताक्षर रहेकाले निर्वाचन हाइब्रिड प्रणालीमै हुनेमा कुनै शंका नरहेको डा. शर्माको भनाइ छ।
उनका अनुसार नेपाल गएर भौतिक रूपमा मतदान गर्न चाहनेहरूलाई सो सुविधा दिइनेछ भने काठमाडौं जान नसक्ने मतदाताहरूका लागि अनलाइनमार्फत मतदानको व्यवस्था गरिनेछ।
डा. शर्माले निर्वाचन प्रणाली आफैंमा खराब नहुने उल्लेख गर्दै चुनावमा पराजय भएपछि स–साना कमजोरी देखाएर विवाद सिर्जना गर्ने प्रवृत्ति त्याग्न सके मात्र निर्वाचन सर्वस्वीकार्य हुने बताए।
१२औँ महाधिवेशन बृहत् एकताको महाधिवेशन भएकाले सहमतिमै कार्यसमिति गठन गर्नु उपयुक्त हुने उनको तर्क छ। सहमतिबाट बनेको कार्यसमितिलाई विधानअनुसार औपचारिकता दिन सकिने उनले बताए।
एनआरएनए हङकङकी अध्यक्ष अनु राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण पाण्डे, निवर्तमान अध्यक्ष गोकर्ण प्रसाद ढकाल, पर्यटन दूत प्रकाश पुन संरक्षक प्रतिम श्रेष्ठ, पूर्व आईसीसी सदस्य डासुराम पराजुली, चेम्बर अफ कर्मस का अध्यक्ष शसी मदन राई तमाडः घेदुडःका अध्यक्ष अनिता तामाङ, सल्लाहकार धरम कुमार गुरुङ, समाजसेवी कुल प्रसाद गुरुङ, सल्लाहाकार रिता गुरूडः सल्लाहाकार इन्द्र वानेम, सल्लाहकार हेम लिम्बु, कार्यसमिति सदस्य, संरक्षक, सल्लाहकार तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम संचालन एनआरएनए हङकङका महासचिव इन्द्र पुनले गरेका थिए ।
