१८ माघ २०८२, आईतवार
Follow Us

राष्ट्रिय स्वतन्त्र पार्टी स्कटल्याण्डद्वारा नयाँ वर्षको शुभकामनासहित चुनाव–केन्द्रित सदस्यता विस्तार भेला सम्पन्न

नेपालब्रिटेन संवाददाता
२४ पुष २०८२, बिहीबार २२:३८

राष्ट्रिय स्वतन्त्र पार्टी स्कटल्याण्ड शाखाद्वारा नयाँ वर्षको शुभकामनासहित चुनाव–केन्द्रित सदस्यता विस्तार तथा संगठन सुदृढीकरण भेला सम्पन्न

ग्लासगो । गत बुधबारका दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्कटल्याण्ड शाखाद्वारा आयोजना गरिएको एक महत्वपूर्ण बैठक तथा कार्यक्रम नयाँ वर्षको शुभकामना आदान–प्रदानसहित अत्यन्त ऊर्जावान र सफलतापूर्वक सम्पन्न भएको छ।

स्कटल्याण्ड शाखाका संयोजक जगन्नाथ (गोकर्ण) भुसालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभाग युकेका सभापति पवन शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।

कार्यक्रममा रास्वपा युकेका उप–सभापति कोशलेश्वर ढकाल, महासचिव कृष्ण लुइटेल, उप–सचिव रमेश बेलबासे लगायत स्कटल्याण्डस्थित पार्टीका सल्लाहकार, पदाधिकारी, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न क्षेत्रका नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको प्रारम्भमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति विशेष धन्यवाद व्यक्त गर्दै उहाँको दृढ नेतृत्व, निर्भीकता र परिवर्तनप्रतिको प्रतिबद्धताले देशभित्र तथा विदेशमा रहेका नेपालीहरूमा नयाँ आशा र विश्वास जागृत गराएको उल्लेख गरियो।

बैठकमा नेपालमा विद्यमान राजनीतिक अस्थिरता, भ्रष्टाचार र जनताप्रतिको बेवास्ताप्रति गम्भीर चिन्ता व्यक्त गर्दै देशको मूलधार राजनीतिमा सक्षम, इमानदार र प्रविधिमैत्री युवा नेतृत्वको आवश्यकता रहेको कुरामा जोड दिइयो। विदेशमा बसे पनि मातृभूमिप्रतिको माया, जिम्मेवारी र योगदानको भावना अटल रहेको तथा राष्ट्रिय पुनर्निर्माणका लागि रास्वपा एक भरोसायोग्य विकल्प बनेको विषयमा सहभागीहरूबीच साझा धारणा व्यक्त गरियो।

भेलाका महत्वपूर्ण निर्णयहरू

बैठकले निम्नलिखित महत्वपूर्ण निर्णयहरू गरेको छः
1. अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना आदान–प्रदान।
2. भोजराज खरेलको परिवारबाट पार्टी कार्यालयका लागि रास्वपा सभापति रवि लामिछानेको फोटो हस्तान्तरण।
3. स्कटल्याण्डमा बढ्दो सदस्यता र समर्थनलाई व्यवस्थित गर्न सल्लाहकार समिति तथा विभिन्न उप–समितिहरू गठन गर्ने।
4. नेपाल तथा विदेशमा रहेका इच्छुक नेपालीहरूलाई पार्टी सदस्यतामा जोड्ने व्यापक सदस्यता विस्तार अभियान सञ्चालन गर्ने।
5. भोजराज खरेलको सहयोगमा ग्लासगोस्थित ८७ होलीबुश रोड, G52 2RF मा रास्वपा स्कटल्याण्ड शाखाको कार्यालय स्थापना गर्ने।
6. प्रत्येक महिना नियमित बैठक आयोजना गर्ने।
7. आगामी फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई हरेक सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्ने।

कार्यक्रममा एकता, देशभक्ति र सकारात्मक परिवर्तनको आह्वान गर्दै सम्पूर्ण नेपाली समुदायलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिई देश निर्माणको अभियानमा सहभागी हुन आग्रह गरियो।

स्कटल्याण्ड शाखा कार्यसमिति

• संयोजक: गोकर्ण भुसाल
• उप–संयोजक: पदमलाल खरेल
• कोषाध्यक्ष: माधव भण्डारी
• उप–कोषाध्यक्ष: पूर्णप्रसाद कँडेल (पुरन)
• सचिव: देवेन्द्र पुरुष कैदी
• उप–सचिव: भोजराज खरेल
• सदस्यहरू: हरी सापकोटा, गगन कँडेल, कमल ढकाल, गणेश पौडेल, पुष्कर खतिवडा

सल्लाहकार समिति

काशीराम भण्डारी, सागर भण्डारी, नरिश्वर खरेल, शिवकान्त खरेल, युवराज तिवारी, गमलाल गैरे, कृष्ण सापकोटा, रामप्रसाद कँडेल।

कार्यक्रमको सफल आयोजनामा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण सहभागीहरू, अतिथिहरू तथा विशेष रूपमा खानपान र व्यवस्थापनमा योगदान पुर्‍याउनु हुने पदमलाल खरेल र भोजराज खरेलको परिवारप्रति आयोजक समितिले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी स्कटल्याण्ड शाखाको यस आयोजनाले विदेशमा रहेर पनि मातृभूमिप्रतिको अटुट लगाव र देश निर्माणमा सक्रिय भूमिका खेल्ने दृढ प्रतिबद्धतालाई स्पष्ट रूपमा प्रस्तुत गरेको आयोजकको भनाइ छ।

‘रास्वपा — आशाको नयाँ बाटो’ भन्ने ध्येयलाई अघि बढाउँदै सबै नेपालीलाई एकजुट हुन आह्वानसमेत गरिएको छ।

धेरै पढिएको