काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भृकुटीमण्डपमा उद्घाटन समारोह चलिरहँदा पार्टी सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई महाराजगञ्जस्थित निवासमा बोलाएका छन् । यो बैठक पार्टीभित्रको गम्भीर आन्तरिक विवाद र विशेष महाधिवेशनको प्रभावबारे छलफल गर्न आयोजित भएको बुझिएको छ ।
देउवानिकट एक नेताका अनुसार, सभापतिले पार्टीको पछिल्लो गतिविधि र समसामयिक अवस्थाबारे छलफल गर्न निकटस्थ केही नेताहरूलाई बोलाएका हुन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखक केही समयअघि नै देउवा निवास पुगिसकेका थिए । उनीहरूबीचको छलफल जारी रहँदा अन्य नेताहरूलाई पनि क्रमशः बोलाइएको हो ।
महाधिवेशनलाई महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बहुमत प्रतिनिधिको समर्थनमा आह्वान गरेका हुन् भने संस्थापन पक्ष यसको विरोधमा छ ।
देउवा पक्षले विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै पार्टी एकता खण्डित हुने खतरा औंल्याएको छ । यसअघि पनि देउवाले निकट नेताहरूसँग महाराजगञ्ज निवासमा पटक–पटक बैठक राखेर विशेष महाधिवेशन रोक्ने वा कमजोर बनाउने रणनीति बनाएका थिए ।