पोखरा — प्रवासमा रहेर पनि आफ्नो माटो र समाजप्रति उत्तरदायी बन्ने भावनालाई आत्मसाथ गर्दै ‘पोखरा फुटबल क्लब पोर्चुगल’ ले पोखरास्थित ‘पोखरा वृद्धाश्रम’ लाई महत्त्वपूर्ण सहयोग हस्तान्तरण गरेको छ ।
पोर्चुगलमा आयोजित प्रतिष्ठित ‘दोस्रो पोखरा गोल्डकप–२०२५’ बाट संकलित मुनाफाको केही हिस्सा सामाजिक कार्यमा लगाउने उद्देश्यअनुरूप क्लबले शनिबार पोखराको पर्यटकीय क्षेत्रमा अवस्थित ‘पोखरा वृद्धाश्रम’ पुगेर राहत सामग्री तथा आर्थिक सहयोग प्रदान गरेको हो ।
खेलकुदको आम्दानी, समाजको हितमा सात समुद्र पारि पोर्चुगलको लिस्वनमा सक्रिय रहेको यस क्लबले खेलकुदका माध्यमबाट नेपालीहरूलाई एकताबद्ध बनाउँदै आएको छ । सोही क्रममा हालै सम्पन्न ‘दोस्रो पोखरा गोल्डकप–२०२५’ को भव्य सफलतापछि, क्लबले प्रतियोगिताबाट बचत भएको रकमलाई मनोरन्जनमा मात्र सीमित नराखी परोपकारी कार्यमा खर्चिने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्दै क्लबका प्रतिनिधिहरू खाद्यान्न, अत्यावश्यक औषधि र नगद रकम लिएर पोखराको वृद्धाश्रम पुगेका हुन् ।
आश्रममै पुगेर हस्तान्तरण सहयोग हस्तान्तरण कार्यक्रममा क्लबको प्रतिनिधित्व गर्दै सल्लाहकार प्रदिप मल्ल, सचिव मनोज गुरुङ, तथा सदस्यहरू सबनाम बराल, विशाल अधिकारी, राम कुमार गुरुङ र सुरेश तामाङ लगायतको टोली वृद्धाश्रम पुगेको थियो । टोलीले आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको दैनिक जीवनयापनलाई सहज बनाउन चामल, दाल, तेल लगायतका खाद्य सामग्री र वृद्धवृद्धाहरूका लागि नियमित आवश्यक पर्ने औषधिहरू हस्तान्तरण गरेको थियो । सामग्रीका अलवा आश्रमको व्यवस्थापनमा सघाउ पुर्याउने उद्देश्यले नगद रकम समेत हस्तान्तरण गरिएको क्लबका सचिव मनोज गुरुङले जानकारी दिए ।
‘पोखरा फुटबल क्लब’ पोर्चुगल
खेल र सेवाको संगम पोर्चुगलमा रहेका नेपाली समुदायबीच फुटबलको माध्यमबाट भाइचारा र एकता कायम गर्ने उद्देश्यले स्थापना भएको ‘पोखरा फुटबल क्लब पोर्चुगल’ प्रवासमा निकै सक्रिय संस्था मानिन्छ । यस क्लबले पोर्चुगलमा नियमित रूपमा सेभेन-ए-साइड फुटबल प्रतियोगिताहरू र ‘पोखरा गोल्डकप’ जस्ता ठूला इभेन्टहरू आयोजना गर्दै आएको छ ।
क्लबले केवल खेलकुदमा मात्र नभई नेपालमा आइपर्ने विभिन्न प्राकृतिक विपत्ति र सामाजिक आवश्यकताहरूमा पनि निरन्तर सहयोग गर्दै आएको छ । प्रवासको व्यस्त जीवनका बाबजुद पनि आफ्नो जन्मभूमिको सेवामा क्लबका सदस्यहरूले देखाएको यो तदारुकतालाई स्थानीयहरूले प्रशंसा गरेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै क्लबका सल्लाहकार प्रदिप मल्लले भने, “हामी शरीरले पोर्चुगलमा भए पनि मनले सधैं नेपालमै छौं । खेलकुदबाट उठेको रकमले आफ्नै आमाबुवा सरहका ज्येष्ठ नागरिकहरूको मुहारमा थोरै भए पनि खुसी ल्याउन पाउनु हाम्रो लागि गोल्डकप जित्नु भन्दा ठूलो उपलब्धि हो ।”
यस किसिमको सहयोगले प्रवासमा रहेका अन्य संघसंस्थाहरूलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ ।