४ माघ २०८२, आईतवार
Follow Us

एनआरएनए निर्वाचन सर्नु दुर्भाग्यपूर्ण र दुःखद : उपाध्यक्ष डा. हेमराज शर्मा

नेपालब्रिटेन संवाददाता
४ माघ २०८२, आईतवार ११:१८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले फेब्रुअरीको अन्तिम साता हुने भनिएको निर्वाचन सार्ने स्टेरिङ कमिटीको निर्णयलाई दुर्भाग्यपूर्ण र दुःखद बताएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै डा. शर्माले यही फेब्रुअरी २३–२५ मा हुने भनिएको बृहत् एकताको १२औँ महाधिवेशन मार्च १४–१६ मा सार्ने स्टेरिङ कमिटीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

उनका अनुसार महाधिवेशनमा सहभागी हुन सयौँ प्रतिनिधिहरूले फेब्रुअरीकै लागि हवाई टिकट काटिसकेका थिए भने धेरैले कामबाट बिदासमेत लिइसकेका थिए। यस्तो अवस्थामा अचानक मिति सारिनु सहभागीहरूका लागि ठूलो असुविधा भएको उनले बताए।

डा. शर्माले भने, “जेनेजी आन्दोलनपछि बनेको सरकारले विषम परिस्थितिमा पनि करोडौँ मतदाता सहभागी हुने आम निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको उदाहरण हामीसँग छ। दुबै पक्षका एनसीसीहरूले सदस्यता वितरण गरी अधिवेशन सम्पन्न गरिसकेको दाबी गरिएको अवस्थामा समयमा निर्वाचन गर्न नसक्नुको कुनै ठोस कारण देखिँदैन।”

उनले बृहत् एकता महाधिवेशनबाट तत्कालीन परराष्ट्र मन्त्री आरजु देउवाको सक्रियतामा अध्यक्ष बनेका महेश कुमार श्रेष्ठले केही समय माग गरेपछि एकताको वातावरण खलबलिन नदिन ‘शंकाको लाभ’का आधारमा महाधिवेशनको मिति सारिएको बुझिएको बताए।

जिम्मेवार संस्थापन पक्षको हैसियतले एक–दुई कदम पछाडि हटेर भए पनि एकताको वातावरण बिग्रन नदिन कठिन निर्णय लिनुपरेको उनको भनाइ छ।

डा. शर्माले तोकिएको समयमा निर्वाचन गर्न आफूले आग्रह गरेको भए पनि प्रयास सफल हुन नसकेको बताए। “म स्टेरिङ कमिटीमा नरहे पनि टिकट काटिसक्नु भएका साथीहरूलाई परेको असुविधाप्रति क्षमाप्रार्थी छु,” उनले लेखेका छन्। साथै, टिकट काटिसकेका सहभागीहरूलाई आफ्नो नाम कमेन्ट बक्समा उल्लेख गर्न अनुरोधसमेत गरेका छन्।

उनका अनुसार संकलित नामहरूको सूची स्टेरिङ कमिटीलाई बुझाइनेछ। “स्टेरिङ कमिटीले टिकटको क्षतिपूर्ति दिन नसक्ला, तर सूची हेरेर परिस्थितिको गम्भीरता महसुस गर्नुहुनेछ भन्ने अपेक्षा छ,” उनले भने।

धेरै पढिएको