९ माघ २०८२, शुक्रबार
Follow Us

हिथ्रो विमानस्थलमा १०० एमएल तरल पदार्थको सीमा हटाइयो

नेपालब्रिटेन संवाददाता
९ माघ २०८२, शुक्रबार १४:१६

लन्डनस्थित बेलायतको सबैभन्दा ठूलो विमानस्थल हिथ्रोले यात्रुहरूले बोकेर लैजान सक्ने तरल पदार्थको १०० एमएल सीमा हटाएको छ। अब यात्रुहरूले दुई लिटरसम्मका तरल पदार्थ झोलाभित्रै राखेर सुरक्षा जाँच पार गर्न सक्नेछन्।

नयाँ हाइ–टेक CT स्क्यानर सबै टर्मिनलमा पूर्ण रूपमा जडान भएपछि यो व्यवस्था लागू गरिएको हो। यससँगै ल्यापटप, ट्याब्लेटजस्ता इलेक्ट्रोनिक सामग्री पनि झोलाबाट निकाल्नुपर्ने छैन भने तरल पदार्थ राख्नका लागि प्रयोग हुँदै आएको पारदर्शी प्लास्टिक झोला पनि आवश्यक नपर्ने भएको छ।

हिथ्रो प्रशासनका अनुसार, सबै टर्मिनलमा नयाँ स्क्यानर पूर्ण रूपमा सञ्चालनमा ल्याउने हिथ्रो विश्वकै पहिलो ठूलो विमानस्थल बनेको छ।

यद्यपि, बेलायतमा यो प्रविधि प्रयोग गर्ने पहिलो विमानस्थल भने हिथ्रो होइन। यसअघि नै ग्याटविक, एडिनबरा र बर्मिङ्घम विमानस्थलहरूले नयाँ स्क्यानर जडान गरी दुई लिटरसम्म तरल पदार्थ लैजान अनुमति दिइसकेका छन्। ब्रिस्टल र बेलफास्ट विमानस्थलले पनि यही सीमा लागू गरेका छन्।

हाल अधिकांश बेलायती विमानस्थलहरूमा भने यात्रुहरूले १०० एमएलसम्मका तरल पदार्थ झोलाभित्रै राख्न पाउने व्यवस्था छ, तर दुई लिटरको सीमा अझै लागू भइसकेको छैन। नयाँ स्क्यानर जडान भइसकेका केही विमानस्थलहरू भने परिवहन मन्त्रालय (DfT) बाट अन्तिम अनुमति पर्खिरहेका छन्।

उपभोक्ता समूह Which? ले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार, नयाँ स्क्यानर अत्यन्त संवेदनशील भएकाले कतिपय विमानस्थलमा स्वचालित जाँचपछि पनि हातले झोला जाँच गर्ने संख्या बढेको छ।

हिथ्रो विमानस्थलले भने नयाँ स्क्यानरले झोलाभित्रको सामग्री स्पष्ट रूपमा देखाउने भएकाले प्रति घण्टा हजारौँ यात्रुहरूलाई छिटो र सुरक्षित रूपमा सेवा दिन सकिने दाबी गरेको छ।

यो नयाँ नियम हिथ्रोबाट प्रस्थान गर्ने उडानहरूमा मात्र लागू हुनेछ। यात्रुहरूले बेलायत फर्किँदा प्रस्थान गर्ने अन्य देशका विमानस्थलका नियमहरू भने अनिवार्य रूपमा जाँच गर्नुपर्नेछ।

उल्लेखनीय छ, सन् २०१९ मा तत्कालीन प्रधानमन्त्री बोरिस जोनसनले २०२२ को अन्त्यसम्म १०० एमएलको तरल पदार्थ नियम हटाइने घोषणा गरेका थिए। तर कोभिड–१९ महामारी का कारण योजना प्रभावित भयो।

पछि सन् २०२२ को डिसेम्बरमा कन्जरभेटिभ सरकारले जुन २०२४ सम्म सुरक्षा जाँचमा अत्याधुनिक स्क्यानिङ उपकरण जडान गरिने घोषणा गर्दै यसलाई “दशकौँयताकै सबैभन्दा ठूलो विमानस्थल सुरक्षा सुधार” भनेको थियो।

धेरै पढिएको