म्याग्दी । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट उम्मेदवार रहेका निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बल्ल बुद्धि आएको टिप्पणी गरेका छन् ।
पुनले शनिबार बेनीको वीरेन्द्रचोकस्थित एक चौतारामा पत्रकार सम्मेलन गरी आफूलाई समर्थन गरेपछि रास्वपाबारे प्रतिक्रिया दिएका हुन् ।
पत्रकार सम्मेलनमा रास्वपाबाट उम्मेदवारी फिर्ता लिएर पुनको उम्मेदवारीलाई समर्थन जनाएका युवराज रोका पनि उपस्थित थिए । रोकाले पार्टी निर्देशन र शुभेच्छुकहरुको आग्रहमा उम्मेदवारी फिर्ता लिएको बताए ।
यसअघि शुक्रबार स्वतन्त्र उमेदवारी दिएका नविन जिसीले पनि उमेदवारी फिर्ता लिएर पुनलाई सघाउने घोषणा गरेका थिए ।
म्याग्दीमा पुनसँग कर्णबहादुर भण्डारी, एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापा र राप्रपाका डम्मरबहादुर सुवेदीसहित १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।