१८ माघ २०८२, आईतवार
Follow Us

घुससहित पक्राउ परेका खरिदार भ्रष्टाचार मुद्दामा दोषी ठहर

नेपालब्रिटेन संवाददाता
१८ माघ २०८२, आईतवार १२:२१

काठमाडौँ । मालपोत कार्यालय धुलिखेलमा कार्यरत एक कर्मचारी घुस लिएको अभियोगमा अदालतबाट दोषी प्रमाणित भएका छन्। विशेष अदालतले खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा कसुरदार ठहर गर्दै सजाय निर्धारण गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज महिनामा सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा भण्डारीलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो। आयोगको अनुसन्धान अनुसार काभ्रेपलाञ्चोक जिल्लाको साबिक दोलालघाट गाविस-७ अन्तर्गतका केही जग्गा फिल्डबुकमा छुट दर्ता भइसकेको अवस्थामा धनीको नाममा पुनः दर्ता मिलाइदिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग रकम माग गरेका थिए।

उजुरीका आधारमा टंगालबाट खटिएको अनुसन्धान टोलीले दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरेको थियो। सोही आधारमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको हो।

विशेष अदालत, काठमाडौँमा दायर आरोप पत्रमा बिगो रकम दुई लाख रुपैयाँ कायम गर्दै कैद तथा बिगो बराबरको जरिवानाको माग दाबी गरिएको थियो। अदालतले आयोगको माग दाबीअनुसार नै फैसला गर्दै भण्डारीलाई कानुनबमोजिम सजाय हुने ठहर गरेको छ।

धेरै पढिएको