ताजा खबर

स्पेनमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइने

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नो सरकारले १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । यसका साथै अवैध वा घृणास्पद सामग्री फैलाउने वा त्यस्ता सामग्रीलाई बढावा दिन एल्गोरिदम प्रयोग गर्ने प्लेटफर्महरूमाथि पनि नियमन कडा पारिने उनले बताए ।

दुबईमा आयोजित वर्ल्ड गभर्नमेन्ट समिटलाई सम्बोधन गर्दै सान्चेजले यी उपायहरूको उद्देश्य डिजिटल प्लेटफर्महरूसँग जोडिएका बढ्दो जोखिमहरूबाट नाबालिगहरूलाई सुरक्षित राख्नु रहेको बताए । उनले यी प्लेटफर्महरू युवा प्रयोगकर्ताहरूका लागि झन्–झन् असुरक्षित हुँदै गएको उल्लेख गरे ।

स्पेन सरकारले सामाजिक सञ्जाल कम्पनीहरूको कानुनी दायित्वलाई सुदृढ गर्न अर्को हप्ता नयाँ विधेयक पेस गर्ने योजना बनाएको छ । सान्चेजका अनुसार यसमा अवैध सामग्री हटाउन असफल हुने वरिष्ठ अधिकारीहरूमाथि दायित्व निर्धारण गर्ने विषय समावेश हुन सक्छ । उनले प्रविधि कम्पनीहरूलाई थप जिम्मेवार बन्न आग्रह गर्दै सरकारले अब सामाजिक सञ्जाल प्लेटफर्ममा हुने दुरुपयोगलाई बेवास्ता गर्न नसक्ने बताए ।

स्पेनले अनलाइनमा घृणास्पद र ध्रुवीकरण गर्ने सामग्रीहरूको विस्तारलाई निगरानी गर्न र जवाफदेहिता सुधार गर्न नयाँ संयन्त्रहरू पनि विकास गर्ने बताए । १६ वर्षभन्दा कम उमेरकालाई लगाइने प्रस्तावित प्रतिबन्धबारे स्पष्ट पार्दै सान्चेजले बालबालिकाहरूमा अनलाइन दुर्व्यसन, दुरुपयोग, हेरफेर र हिंसात्मक वा स्पष्ट सामग्रीहरूको जोखिम बढ्दै गएको बताए । उमेरको प्रतिबन्धलाई कडाइका साथ लागू गर्न सरकारले प्रभावकारी संयन्त्रहरू ल्याउने उनले जानकारी दिए ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता