२७ माघ २०८२, मंगलवार
Follow Us

मेघालय कोइलाखानी विष्फोटमा खोटाङका चार श्रमिकको मृत्यु भएको पुष्टि

नेपालब्रिटेन संवाददाता
२७ माघ २०८२, मंगलवार ०६:०४

खोटाङ । भारतको मेघालयस्थित पूर्वी जयन्तिया हिल्समा रहेको कोइलाखानीमा भएको भीषण विष्फोटमा ज्यान गुमाउने नेपालीहरूको संख्या चार पुगेको छ । विष्फोटपछि बेपत्ता भएका खोटाङका ५० वर्षीय रत्न राईको शव पहिचान भएसँगै मृतक नेपालीको संख्या थपिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम जोरकाफलका राईको शव अस्पतालमा डढेको अवस्थामा फेला परेको थियो । शरीरको बनोटका आधारमा आफन्तले उनको पहिचान गरेका हुन् । गत असोज ९ गते रोजगारीको खोजीमा मेघालय पुगेका राईको मृत्युको खबरले उनको परिवार र सिंगो गाउँ शोकमा डुबेको छ । घरमा उनका छोराहरूले माघ २५ गतेदेखि नै काजकिरिया सुरु गरिसकेका छन् ।

यसअघि सोही विष्फोटमा परी खोटाङको बराहपोखरी गाउँपालिका-१ सालघारीका तीन जनाको मृत्यु भइसकेको छ । ज्यान गुमाउनेमा २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गी छन् । मृतक पूर्णबहादुर र सुरेन्द्र एउटै घरका दाजुभाइ हुन् । माघ २२ गते भएको विष्फोटमा पूर्णबहादुर र सुरेन्द्रको घटनास्थलमै र नरबहादुरको उपचारका क्रममा भोलिपल्ट मृत्यु भएको थियो ।

विष्फोटमा ज्यान गुमाएका खपाङ्गी त्रयको गत माघ २६ गते शिलाङको झालुपारामा दाहसंस्कार गरिएको छ । मृतकका आफन्त प्रकाश खपाङ्गी मगरका अनुसार शव नेपाल ल्याउनका लागि नेपाल सरकारका तर्फबाट कुनै पहल वा सहयोग प्राप्त नभएपछि बाध्य भएर परदेशमै अन्तिम संस्कार गरिएको हो ।

सोही विष्फोटमा परेर बराहपोखरीकै ४६ वर्षीय कर्णबहादुर खपाङ्गी, ४० वर्षीय बमबहादुर खपाङ्गी र उदयपुर साउनेका ४० वर्षीय ललित मगर गम्भीर घाइते भएका छन् । उनीहरू गत पुस ३ गते मात्र कामको खोजीमा त्यहाँ पुगेका थिए । अवैध रूपमा सञ्चालित भनिएको उक्त कोइलाखानीमा भएको शक्तिशाली डाइनामाइट विष्फोटमा अझै दर्जनौँ कामदारहरू फसिरहेको अनुमान गरिएको छ ।

धेरै पढिएको