२८ माघ २०८२, बुधबार
Follow Us

एनआरएनए निर्वाचनः युवा उपाध्यक्षमा सुपेन्द्र घिसिङले उम्मेदवारी दिने

नेपालब्रिटेन संवाददाता
२८ माघ २०८२, बुधबार १४:१२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि जापानबाट सुपेन्द्र घिसिङले युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा हुने १२ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनका लागि वर्तमान एनआरएनए युवा संयोजक घिसिङले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

विगत १८ वर्षदेखि जापानलाई आफ्नो कर्मभूमि बनाउँदै एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहेका उनी काभ्रेपलाञ्चोकमा जन्मिएका हुन् । घिसिङ एनआरएनए जापानमा सन् २०१४ मा प्रवेश गर्दै क्षेत्रीय कमिटी, एनसीसी हुँदै आईसीसी सदस्यमा भारी मतले विजयी भएका थिए ।

उनले काभ्रेली समाज जापान, तामाङ समाज जापान र जनजाति महासंघ जापानका विभिन्न पदको जिम्मेवारी वहन गर्दै अन्य विभिन्न संघसंस्थामा सल्लाहकारको भूमिकामा सामाजिक कार्य गर्दै आएका छन् । त्यस्तै, एनआरएनएको विभिन्न टास्कफोर्समा बसेर आफ्नो कार्यक्षमता प्रस्तुत गरिसकेका छन् ।

नेपालमा २०७२ सालमा गएको महाभूकम्पका बेला उनले आर्थिक सहयोग गर्नुका साथै आर्थिक संकलन अभियानमा समेत सक्रिय भूमिका खेलेका थिए । कोभिड–१९ को महामारीमा पनि उनले नेपालका लागि र जापानमा रहेका नेपालीहरूलाई आर्थिक सहयोग तथा खाद्य सामग्री वितरण गर्नुका साथै सूचना सम्प्रेषणमा समेत सक्रियता देखाएका थिए । त्यसैबेला नेपालमा अक्सिजन अभाव हुँदा अक्सिजन आपूर्ति गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नेपालमा दिनदुःखी तथा अपांगता भएका व्यक्तिहरूलाई सहयोग गर्नुका साथै प्राकृतिक प्रकोप आदिमा निरन्तर सहयोग गर्दै आइरहेका छन् ।

उनको जापानमा घिसिङ कम्पनी लिमिटेडमार्फत ‘ताज’ ब्रान्डअन्तर्गत होटल व्यवसाय सञ्चालनमा छ भने जिङ लिमिटेडअन्तर्गत जापानमा मेनपावर र रियल स्टेट व्यवसाय पनि सञ्चालन गर्दै आएका छन् । थ्रीजी बिल्डर्स कम्पनीमार्फत कन्स्ट्रक्सन तथा होटल व्यवसायमा समेत उनी संलग्न छन् ।


म्मेदवारी घोषणा

युवा उपाध्यक्ष पद – एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC)
कार्यकाल: 2026–2028
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को 2023–2025 कार्यकालका लागि युवा संयोजक पदको जिम्मेवारी निर्वाह गरिरहेको कुरा यहाँहरू सबैलाई अवगत नै छ। सोही अनुभव, जिम्मेवारी र निरन्तरताको भावनाका साथ आगामी 2026–2028 कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्दछु।
एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहँदै विगत डेढ दशकदेखि जापानको क्षेत्रीय कमिटीदेखि केन्द्र कमिटीसम्म विभिन्न जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त गरें। साथै, आईसीसी सदस्यका रूपमा जापानको प्रतिनिधित्व गर्दै सेवा गर्ने सौभाग्य पनि मिल्यो। विदेशमा रहनुभएका आमाबुबा, दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण अग्रजहरूको माया, विश्वास र सहयोगका कारण 2023–2025 कार्यकालका लागि युवा संयोजक पदको जिम्मेवारी प्रदान गर्नुभएकोमा म हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछु।
यस कार्यकाल विभिन्न चुनौतीपूर्ण परिस्थितिबीच सम्पन्न भयो। मुद्दा–मामिला, विभिन्न एनसीसीहरूमा देखिएका विभाजन तथा संगठनभित्र उत्पन्न असहज अवस्थाका बाबजुद पनि आर्थिक, भौतिक र सामाजिक सहयोगमार्फत सामाजिक अभियानलाई निरन्तरता दिँदै अघि बढ्ने प्रयास गरें। यही क्रममा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन थाइल्याण्डमा भव्य र सफल रूपमा सम्पन्न गर्न सफल भयौं, जुन सम्पूर्ण युवाहरू तथा अग्रजहरूको सामूहिक प्रयास र उपलब्धि थियो।
हिजो फरक–फरक देखिएका भावना, विचार र दृष्टिकोणहरू आज एकताको दिशामा उन्मुख हुन थालेका छन् । यसका लागि सम्पूर्ण अग्रजहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। अब आउँदै गरेको १२औँ महाधिवेशन एकताको महाधिवेशन बन्नुपर्छ भन्ने मेरो दृढ विश्वास छ। साथै, यस महाधिवेशनबाट सर्वसम्मत कार्यसमिति गठन होस् भन्ने कामना गर्दै सर्वसम्मतिका लागि मेरो तर्फबाट भरपूर प्रयास रहने प्रतिबद्धता व्यक्त गर्दछु।
देशको वर्तमान अवस्था, संगठनको आवश्यकता तथा भविष्यको दिशालाई मध्यनजर गर्दै अबको एनआरएनएले Second Generation (दोस्रो पुस्ता) लाई पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्ने मेरो स्पष्ट मान्यता छ। यही सोच र प्रतिबद्धताका साथ म 2026–2028 कार्यकालका लागि युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु।
हिजोझैँ आज पनि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको माया, सुझाव, सल्लाह र साथ प्राप्त हुनेछ भन्ने पूर्ण विश्वासका साथ यो निर्णय लिएको छु। तपाईंहरूको निरन्तर सहयोग र मार्गदर्शनसँगै अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गर्दछु।

धन्यवाद।
जय एनआरएनए।

धेरै पढिएको