काठमाडौँ । आफूलाई एक्स्ट्रिमिस्ट ग्रुप या नेपाल इजिएनको अध्यक्ष बताइ आफ्नो इमेल आइडीबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहित १० जनालाई ज्यान मार्नेसम्मको धम्की दिने व्यक्तिमाथि आज ६ वटा मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले यसरी धम्की दिने काभ्रेपलान्चोक, तेमाल गाउँपालिका– १ घर भई हाल फिलिपिन्स बस्दै आएका वर्ष ३४ का प्रकाश पाठक रहेका र उनलाई इन्टरपोलमार्फत पक्राउ गरी नेपाल ल्याइएको जानकारी दिए ।
उनका अनुसार उनलाई फिलिपिन्सबाट आजै काठमाडौँ ल्याइ काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको पनि भट्टराईले बताए ।
उनीविरुद्ध केही सार्वजनिक अपराध, ठगीसम्बन्धी कसूर, आपाराधिक लाभ लिन नहुने र आपाराधिक षड्यन्त्र गर्न नहुनेलगायतका कसूरमा ६ वटा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ ।
उनले सन् २०२५ अक्टोबर २२ मा आफूले प्रयोग गर्ने इमेल आइडीबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्तलगायत अन्य १० जना उपर ज्यान मार्नेसम्मको धम्की दिएका थिए । त्यसपछि प्रहरीले खोजीको सूचीमा राखेको थियो । प्रहरीको इन्टरपोलमार्फत फिलिपिन्सको इन्टरपोलसँग समन्वय गरी उनलाई नेपाल झिकाइएको थियो ।