लण्डन, — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचनमा युवा उपाध्यक्ष पदका लागि ओमन गौचन (ह्यान्सन) ले उम्मेदवारी घोषणा गरेका छन्।
ब्रिटिश–नेपाली उद्यमीसमेत रहेका गौचनले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गर्दै आफ्नो अभियान औपचारिक रूपमा सार्वजनिक गरेका हुन्।
गौचन यसअघि NRNA NCC UK का कार्यकारी सदस्य (२०२१–२०२३) का रूपमा कार्य गरिसकेका छन्। उनले युवा सशक्तिकरण, नेतृत्व विकास र अन्तर्राष्ट्रिय सञ्जाल विस्तारलाई आफ्नो मुख्य प्राथमिकता बनाएको बताएका छन्।
उनका अनुसार विश्वभर छरिएर रहेका नेपाली युवालाई एकताबद्ध गर्दै सशक्त, एकीकृत र सहयोगी नेपाली समुदाय निर्माण गर्नु नै आफ्नो उम्मेदवारीको प्रमुख उद्देश्य हो। “युवाहरू केवल भविष्यका नेतृत्वकर्ता मात्र होइनन्, उनीहरू वर्तमानका सक्रिय नेतृत्वकर्ता पनि हुन्,” उनले भने।
गौचनले आफ्नो प्रतिबद्धतामा विश्वव्यापी युवा सञ्जाल निर्माण, नेतृत्व विकास तथा मेन्टरशिप कार्यक्रम सञ्चालन, व्यावसायिक अवसरको सिर्जना, नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धन, दोस्रो र तेस्रो पुस्तामा भाषा, संस्कृति र पहिचानप्रति गर्व अभिवृद्धि, तथा ICC, NCC र स्थानीय समुदायबीच प्रभावकारी समन्वयलाई प्राथमिकतामा राखेका छन्।
उनले पारदर्शिता, जिम्मेवारी र परिणाममुखी नेतृत्वमार्फत संस्थालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
गौचनको अभियानको मूल नारा रहेको छ— “एक विश्व, एक नेपाली परिवार — सशक्त, एकीकृत र उज्ज्वल भविष्यतर्फ।”
आगामी महाधिवेशनलाई लक्षित गर्दै उनले विश्वभरका नेपाली सञ्चारमाध्यम, संघ–संस्था तथा समुदायलाई युवा–केन्द्रित र एकीकृत एनआरएनए निर्माणमा साथ दिन आह्वान गरेका छन्।