१६ फाल्गुन २०८२, शनिबार
Follow Us

बोलिभियामा सैन्य विमान सडकमा बजारिँदा १५ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१६ फाल्गुन २०८२, शनिबार ०९:१९

काठमाडौं । बोलिभियाको केन्द्रीय बैंकको नोट बोकेर उडेको वायु सेनाको एक विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ । यस घटनामा परी अन्य ३० जना घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, शनिबार बिहान एल आल्टो अन्तर्राष्ट्रिय विमानस्थलमा वायु सेनाको ‘हर्कुलस’ विमान दुर्घटनाको शिकार भएको हो । खराब मौसमका कारण अवतरण गर्ने बित्तिकै धावनमार्गबाट अनियन्त्रित भई चिप्लिएको उक्त विमान सिधै नजिकैको सडकमा पुगेर बज्रिएको थियो । सडकमा विमान बजारिँदा त्यहाँ गुडिरहेका करिब १५ वटा सवारीसाधनमा समेत नराम्ररी क्षति पुगेको छ ।

दुर्घटना यति शक्तिशाली थियो कि विमान चक्नाचुर हुँदै दुई टुक्रा भएको छ । दुर्घटनास्थलको दृश्य निकै दर्दनाक रहेको र सडकभरि शवसँगै विमानमा ढुवानी गरिँदै गरेका बैंकका नोटहरू छरपस्ट अवस्थामा देखिएका छन् ।

यस अकल्पनीय घटनापछि एल आल्टो अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण सेवा तत्कालका लागि बन्द गरिएको छ । सडकमा छरिएका नोटहरू र त्यहाँ जम्मा भएको भिडलाई नियन्त्रणमा लिन स्थानीय सुरक्षा अधिकारीहरूले पानीको फोहोराका साथै अश्रुग्यास समेत प्रयोग गर्नुपरेको अधिकारीहरूले जनाएका छन् ।

धेरै पढिएको