काठमाडौं । इरानले बहराइनमा रहेको अमेरिकी सैन्य अड्डा (एयर बेस) मा भीषण आक्रमण गरी त्यसलाई ध्वस्त पारेको दाबी गरेको छ । इरानी क्रान्तिकारी गार्ड्स (आईआरजीसी) सम्बद्ध समाचार एजेन्सी ‘फार्स’ का अनुसार बहराइनको शेख इसा क्षेत्रमा रहेको अमेरिकी कमाण्ड र स्टाफ भवनलाई निशाना बनाएर मिसाइल तथा ड्रोन आक्रमण गरिएको हो ।
इरानी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको भिडियो फुटेजमा एकपछि अर्को गर्दै क्षेप्यास्त्रहरूले टाढाका लक्ष्यहरूमा प्रहार गरेको र ठूला विष्फोटहरू भएको देखिएको छ । उक्त आक्रमणबाट अमेरिकी सैन्य अड्डाका इन्धन ट्याङ्कीहरू विष्फोट भएको र बेसमा ठूलो क्षति पुगेको इरानको दाबी छ ।
यद्यपि, यस आक्रमणका बारेमा अमेरिकाले अहिलेसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन । यसअघि बहराइनमा रहेको अमेरिकाद्वारा सञ्चालित नौसेनाको अड्डाबाट पनि धुवाँको मुस्लो निस्किरहेको देखिएको थियो ।
क्षेत्रीय तनाव उत्कर्षमा पुगेपछि अमेरिकी विदेश मन्त्रालयले बहराइनमा रहेका आफ्ना नागरिकहरूलाई तत्काल देश छाड्न आदेश दिएको छ । सुरक्षाको गम्भीर खतरा रहेको भन्दै अमेरिकाले बहराइनसहित मध्यपूर्वका एक दर्जनभन्दा बढी मुलुकहरूमा रहेका आफ्ना नागरिकलाई तुरुन्त ती देशहरू छोड्न निर्देशन जारी गरेको हो ।
यसअघि साउदी अरब र कुवेतका अमेरिकी दूतावासहरूमा भएका आक्रमण र अहिले बहराइनको सैन्य अड्डामा भएको भनिएको यो प्रहारले मध्यपूर्वमा अमेरिका र इरानबीच सिधा युद्धको खतरालाई झनै नजिक पुर्याएको छ ।