काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनका लागि भोलि (शुक्रबार) देखि उम्मेदवारी मनोनयन दर्ता सुरु हुने भएको छ।
प्रमुख निर्वाचन आयुक्त तथा पूर्वन्यायाधीश तेजबहादुर कार्कीका अनुसार निर्वाचन समितिले प्रारम्भिक मतदाता नामावलीमाथि परेका उजुरीहरूको छानबिन अन्तिम चरणमा पुर्याएको छ। छानबिनपछि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
निर्वाचन समितिले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा अन्तिम मतदाता नामावली प्रकाशनमा एक दिन ढिलाइ हुन सक्ने भए पनि यसअघि सार्वजनिक गरिएको निर्वाचन तालिकामा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ।
उम्मेदवार बन्न इच्छुकहरूले मार्च ६ देखि १० तारिखसम्म अनलाइन माध्यमबाट वा भौतिक रूपमा उपस्थित भई उम्मेदवारी दर्ता गर्न सक्नेछन्। तर उम्मेदवारले आफ्नो हस्ताक्षर सनाखतका लागि अनिवार्य रूपमा स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।
एनआरएनएको १२औँ महाधिवेशन आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुँदैछ। नयाँ नेतृत्व चयनका लागि हुने उक्त महाधिवेशनमा अनलाइन तथा भौतिक दुवै माध्यमबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ। हाल महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम जारी रहेको छ।
