काठमाडौं । आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर उत्साहजनक तथा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया अपराह्न ५ बजेसम्म सञ्चालन भएको थियो। निर्वाचन आयोगका अनुसार करिब ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।
प्रतिनिधिसभाको प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) तर्फ १६५ सिट र समानुपातिकतर्फ ११० सिटका लागि मतदान भएको हो।
प्रत्यक्षतर्फ देशभर ६५ वटा राजनीतिक दलका उम्मेदवारहरू ६१ निर्वाचन चिह्नसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
निर्वाचन आयोगले प्रत्यक्षतर्फको सबै परिणाम २४ घण्टाभित्र सार्वजनिक गर्ने जनाएको छ। मतदान केन्द्रबाट मतपेटिका संकलन भई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि आजै रातिबाट मतगणना सुरु हुने अपेक्षा गरिएको छ।