२१ फाल्गुन २०८२, बिहीबार
Follow Us

कतारमा रहेका नेपालीको उद्धारको लागि प्रधानमन्त्री कार्कीको पहल

नेपालब्रिटेन संवाददाता
२१ फाल्गुन २०८२, बिहीबार १०:४६

प्रधानमन्त्री कार्की र कतारी समकक्षीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन संवाद गरेकी छन्।

संवादका क्रममा उनले पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै कतारमा रहेका नेपालीको सुरक्षामा चासो राखेकी हुन्।

प्रधानमन्त्री कार्कीले कतारमा कार्यरत करिब ३ लाख ६० हजार नेपाली नागरिकलाई सुरक्षा र संरक्षण उपलब्ध गराएकोमा कतार सरकारलाई धन्यवाद दिएकी छन्। कतारमा नेपाली श्रमिक सुरक्षित रहेको खबरले आफूलाई खुसी लागेको उनले बताइन्।

उनले भनिन्, ‘हाल करिब ३ लाख ६० हजार नेपाली नागरिक कतारमा बसोबास गर्दै काम गरिरहेका छन्। उनीहरू सुरक्षित छन् र राम्रोसँग हेरचाह गरिएको छ भन्ने कुरा सुन्दा मलाई अत्यन्त खुसी लागेको छ। हाम्रा जनताको हेरचाह गर्नुभएकोमा तपाईं तथा तपाईंको सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।’

पश्चिम एसियाको घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको बताउँदै प्रधानमन्त्री कार्कीले सम्बद्ध सबै पक्षलाई संयमित रहन र द्वन्द्वलाई थप नचर्काउन आग्रह गरेकी छन्।

उनले कुनै पनि बहानामा युद्ध शान्तिको विकल्प हुन नसक्ने औंल्याइन्। सबै राष्ट्रले संयुक्त राष्ट्र संघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र मानवीय कानुनको पालना गर्नुपर्नेमा उनले जोड दिइन्।

‘वार्ता र कूटनीतिको माध्यमबाट मात्र दीर्घकालीन शान्ति सुनिश्चित हुन्छ,’ प्रधानमन्त्री कार्कीको भनाइ थियो।

संवादका क्रममा प्रधानमन्त्री कार्कीले कतारको सार्वभौम भूमि, विशेषगरी गैरसैनिक क्षेत्रमा भएको आक्रमणप्रति गहिरो चासो व्यक्त गर्दै ऐक्यबद्धता जनाएकी छन्। कतारले रचनात्मक भूमिकासहित वर्तमान परिस्थितिको सामना गर्ने विश्वास उनले व्यक्त गरिन्।

जवाफमा कतारका प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री अल-थानीले नेपाल र कतारबीचको सुमधुर सम्बन्धको प्रशंसा गरेका छन्।

उनले कतारको विकासमा नेपाली नागरिकले पुर्‍याएको योगदानको चर्चा गर्दै वर्तमान परिस्थितिमा उनीहरूलाई कतारी नागरिकसरह नै सुरक्षा र संरक्षण दिने प्रतिबद्धता जनाए।

उनले अहिलेको परिस्थितिलाई दुर्भाग्यपूर्ण बताउँदै आफ्नो मुलुकले सार्वभौमिकता र आत्मसुरक्षाका लागि मात्र प्रयास गरिरहेको प्रस्ट पारे।

कतार सधैँ शान्तिको पक्षमा रहेको दाबी गर्दै उनले नेपालले देखाएको मित्रता र ऐक्यबद्धताप्रति धन्यवाद व्यक्त गरे।

दुई नेताबीच आगामी दिनमा उच्चस्तरीय भ्रमण आदानप्रदान, आर्थिक तथा सांस्कृतिक सहकार्यमार्फत दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा समेत छलफल भएको छ।

धेरै पढिएको