प्रस्तावक–समर्थकको व्यवस्था खुकुलो बनाउन आग्रह
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४–१६ मा हुने १२औँ महाधिवेशनमा सहभागी हुन काठमाडौँ आइपुगेका ३५० भन्दा बढी प्रतिनिधिहरूले पूर्वनिर्धारित निर्वाचन तालिका कार्यान्वयन गर्न माग गरेका छन्।
संघका अमेरिका क्षेत्रीय उपसंयोजक पूर्ण बानियाँको नेतृत्वमा शुक्रबार संघको केन्द्रीय कार्यालय पुगेको प्रतिनिधिमण्डलले संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठमार्फत परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै निर्वाचन सार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ।
ज्ञापनपत्रमा मध्यपूर्व क्षेत्रका साथीहरूको संवेदनशील अवस्थालाई आधार बनाएर मानसिक दबाब सिर्जना गर्दै बृहत् एकताको वातावरण खलबल्याउने तथा विभिन्न बहानामा निर्वाचन मिति सार्ने प्रयास कुनै हालतमा स्वीकार्य नहुने उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा भनिएको छ, “आम गैरआवासीय नेपालीहरूको साझा संस्था एनआरएनए अनेक उतार–चढावपछि पुनः एकताको वातावरणमा पुगेकोमा हामी उत्साहित छौँ। उक्त एकतालाई सार्थक बनाउन मार्च १४–१६ मा आयोजना हुने १२औँ महाधिवेशनमा सहभागी हुन हामीमध्ये कतिपय नेपाल आइपुगेका छौँ भने कतिपय केही दिनभित्र आउने तयारीमा छन्। महाधिवेशनका लागि आवश्यक तयारी पनि भइसकेको छ।”
नेपाल सरकारका परराष्ट्र मन्त्रीको संयोजकत्वमा १२औँ एनआरएन विश्व सम्मेलन सम्पन्न गर्न तयारी समिति गठन भइसकेको र निर्वाचन समितिले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको अवस्थामा पुनः मिति सार्ने प्रयास उचित नहुने उल्लेख गरिएको छ।
ज्ञापनपत्रमा मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण त्यहाँ बसोबास गर्ने गैरआवासीय नेपालीहरू प्रभावित भएको र नेपाल आउने उडानहरूमा पनि अवरोध आएको अवस्थाबारे आफूहरू जानकार रहेको उल्लेख गरिएको छ।
संघको विधानअनुसार अनलाइन माध्यमबाट मतदान गर्न सकिने व्यवस्था भएकाले उक्त क्षेत्रका गैरआवासीय नेपालीहरू मतदानबाट वञ्चित नहुने बताइएको छ। तर उम्मेदवार तथा उनका प्रस्तावक–समर्थकहरूको सनाखतका लागि काठमाडौँमा भौतिक रूपमा उपस्थित हुनुपर्ने व्यवस्थाका कारण त्यहाँका प्रतिनिधिहरूको उम्मेदवारी प्रभावित हुन सक्ने अवस्था देखिएको उल्लेख गरिएको छ।
त्यसैले वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै सनाखत प्रक्रिया पनि अनलाइन माध्यमबाट गर्न सकिने व्यवस्था मिलाउन सम्बन्धित पक्षसँग आग्रह गरिएको छ।
पटक–पटक निर्वाचन सार्न नसकिने
ज्ञापनपत्रमा गत वर्षको अक्टोबर, यस वर्षको फेब्रुअरी र अहिले मार्च गरी तीन पटकसम्म निर्वाचन सारिएको उल्लेख गर्दै अब पुनः मिति सार्न नसकिने स्पष्ट पारिएको छ।
“आफ्नो कामबाट बिदा मिलाएर पटक–पटक हवाई टिकट रद्द गर्दै काठमाडौँ आउन हामीलाई सम्भव छैन। त्यसैले निर्धारित कार्यतालिकाअनुसार तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्न सम्बन्धित सबै पक्षसमक्ष जोडदार माग गर्दछौँ,” ज्ञापनपत्रमा भनिएको छ।
ज्ञापनपत्र बुझ्दै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले मध्यपूर्वका प्रतिनिधिहरूलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन आवश्यक पहल गर्ने बताए।
उनले भने, “मध्यपूर्वका साथीहरूलाई अनलाइनबाट उम्मेदवार बन्न र मतदान गर्न समस्या छैन। तर प्रस्तावक–समर्थकहरू अनिवार्य रूपमा भौतिक रूपमा उपस्थित हुनुपर्ने व्यवस्थाबारे परराष्ट्र मन्त्रालयसँग परामर्श गरेर विकल्प खोज्न सकिन्छ।”
उक्त अवसरमा एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, उपाध्यक्ष रोजिना प्रधान राई, एनआरएनए सुडानका अध्यक्ष रामप्रसाद पाध्य, एनआरएनए जर्मनीका पूर्व उपाध्यक्ष राधा सिग्देल, आईसीसी सदस्य मनोज विक (सेशेल्स), खीलबहादुर तामाङ (सेशेल्स), एनआरएनए सेशेल्सका उपाध्यक्ष प्रेमबहादुर चन्द, सिता गिरी, दिप्ती राणा मगर लगायतको उपस्थिति रहेको थियो।



