प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को पछिल्लो परिणामले राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ । खोटाङ जिल्लाबाट श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएसँगै उक्त पार्टीले सङ्घीय संसद्मा आफ्नो ऐतिहासिक खाता खोलेको हो ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार, श्रम संस्कृति पार्टीका राईले १६ हजार ६१२ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन् । यो विजयसँगै श्रम संस्कृति पार्टीले पहिलोपटक प्रतिनिधिसभामा आफ्नो उपस्थिति सुनिश्चित गरेको छ ।
राईका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का देवबिक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरे । विजयी आरेन र एमालेका देवबिक्रम बीच ३ हजार ८९८ को मतान्तर रहेको छ ।
त्यस्तै, चुनावी प्रतिस्पर्धामा तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार वीरकाजी राईले ११ हजार ९५७ मत प्राप्त गरे । वामपन्थी कित्ताका साझा उम्मेदवारका रूपमा देखिएका नेपाल कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रुद्र गिरीको पक्षमा ५ हजार ७०४ मत मात्र खस्यो ।
परम्परागत शक्ति र स्थापित दलहरूलाई पछि पार्दै श्रम संस्कृति पार्टीले प्राप्त गरेको यो जितलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । खोटाङे मतदाताले यसपटक नयाँ शक्ति र नयाँ एजेन्डालाई विश्वास गरेको देखिएको छ । विजयी भएपछि राईले मतदाताको विश्वासलाई कदर गर्दै खोटाङको विकास र श्रम संस्कृतिको प्रवर्द्धनमा आफ्नो कार्यकाल खर्चिने प्रतिबद्धता व्यक्त गरेका छन् ।