काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले अद्यवधिक गरेको पछिल्लो विवरणअनुसार बुधबार बिहान १० बजेसम्म देशभर कुल १ करोड ७ लाख ३२ हजार ९३२ मत गणना भइसकेको छ ।
हालसम्मको नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दलको तुलनामा भारी मतान्तरसहित आफ्नो अग्रता कायम राखेको छ । रास्वपाले कुल ५१ लाख ३६ हजार ६७४ मत प्राप्त गरेको छ । यो गणना भएको कुल मतको झन्डै ४७.८६ प्रतिशत हुन आउँछ ।
त्यस्तै, नेपाली कांग्रेस १७ लाख ४८ हजार ३३६ मतका साथ दोस्रो स्थानमा रहेको छ । कांग्रेसले पाएको मत कुल गणनाको १६.२९ प्रतिशत रहेको छ । नेकपा (एमाले) १४ लाख ४८ हजार ४१२ मतका साथ तेस्रो स्थानमा छ, जुन कुल गणनाको १३.५० प्रतिशत हाराहारी हो । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ४ हजार १७१ मत (७.४९ प्रतिशत) प्राप्त गरेको छ ।
अन्य दलहरूमा श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५९४ मत (३.५३ प्रतिशत) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २९ हजार ४६६ मत (३.०७ प्रतिशत) ल्याएका छन् । यी दुवै दलले राष्ट्रिय दल बन्न आवश्यक ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेका छन् ।
यता, जनता समाजवादी पार्टी (जसपा) नेपालले १ लाख ७४ हजार ३१४ मत प्राप्त गरेको छ । यो कुल गणनाको करिब १.६२ प्रतिशत मात्र हो । राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत र प्रत्यक्षतर्फ १ सिट जित्नुपर्ने प्रावधान छ । हालसम्मको तथ्याङ्क हेर्दा जसपा नेपाल राष्ट्रिय दल बन्ने सम्भावना न्यून देखिएको छ । यस्तै राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७२ हजार ४९७ मत पाएको छ भने जनमत पार्टी ७८ हजार ९५३ मतमा सीमित देखिएको छ ।
फागुन २१ गते भएको निर्वाचनमा कुल १ करोड ९ लाख ७७ हजार मत खसेको थियो । सोही आधारमा अब करिब २ लाख ४४ हजार मत गणना हुन बाँकी छ । हालसम्मको मत परिणामलाई विभाजक सूत्र (सेन्ट लग विधि) बाट हिसाब गर्दा रास्वपाले समानुपातिकबाट ५८, कांग्रेसले १९, एमालेले १६, नेकपाले ९ तथा श्रम संस्कृति र राप्रपाले ४-४ सिट प्राप्त गर्ने देखिएको छ । आयोगले बाँकी मत गणना सकिएपछि दलहरूले पाउने अन्तिम सिट सङ्ख्या सार्वजनिक गर्नेछ ।