काठमाडौं । गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ रिहा भएका छन् ।
डिल्लीबजार कारागारमा रहेका उनलाई बुधबार रिहा गरिएको कारागारका जेलर बाबुराम अर्यालले जानकारी दिए । ‘उनले पाउनुपर्ने सजाय भुक्तान गरिसक्नुभएकोले आज रिहा गरिएको हो,’ जेलर अर्यालले भने ।
२०६१ वैशाख ३१ गते मिलन गुरुङ ‘चक्रे मिलन’माथि तरबार प्रहार गरी हात छिन्ने गरी घाइते बनाएको घटनामा सर्वोच्च अदालतले गुरुङलाई ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर गरेको थियो ।
सोही मुद्दामा २०८१ कात्तिक २० गते सर्वोच्च अदालतले उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । यो सजाय २०६९ साउन २८ गते उच्च अदालत पाटनले गरेको फैसला सदर गर्दै सर्वोच्चले अन्तिम निर्णय गरेको हो । गुरुङले उक्त मुद्दामा २०७५ वैशाख २३ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए ।
यसअघि नै उनी सोही मुद्दामा दुई वर्ष आठ महिना जेल बसिसकेका थिए । अदालतको फैसला अनुसार उनले थप दुई वर्ष चार महिना कैद भुक्तान गर्नुपर्ने थियो । तर जिल्ला अदालत काठमाडौंले २०८१ फागुन २३ गते उनलाई २० प्रतिशत कैद छुट दिने आदेश दिएको थियो ।