काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट ६ दलले राष्ट्रिय मान्यता पाएका छन् । प्रत्यक्षतर्फ १ सिट र समानुपातिक प्रणालीतर्फ खसेर सदर भएको मतको ३ प्रतिशत मत पाउने दलले राष्ट्रिय मान्यता व्यवस्था छ ।
कानुनमा निर्धारण भएको त्यो मापदण्ड पूरा गरेर ६ दलले राष्ट्रिय मान्यता पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता पाउन सफल भएका हुन् ।
राष्ट्रिय मान्यता प्राप्त दलले सरकारबाट पाउने विभिन्न सेवा सुविधा थप पाउने व्यवस्था सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ ले गरेको छ ।
तर, त्यही ऐनका कारण राष्ट्रिय मान्यता प्राप्त दल बने पनि श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन । ऐनको दफा २ को (ञ) मा तोकिएको व्यवस्थाका कारण यी दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका हुन् ।
(ञ) मा लेखिएको छ, ‘दलको प्रमुख सचेतक भन्नाले प्रतिनिधिसभामा दश जना भन्दा बढी सदस्यहरू रहेको दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न तोकेको त्यस्तो सभाको सदस्य सम्झनुपर्छ ।’